जनकल्याण मावि अक्षयकोषको पाँचौँ साधारणसभा तथा छैटौं स्थापना दिवस

  म्याग्दी न्युज संवाददाता

बेनी ।जनकल्याण मावि अक्षयकोषको सोमबार पाँचौँ वार्षिक साधारणसभा तथा छैटौं स्थापना दिवस कार्यक्रम सम्पन्न भएको छ । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा स्थापित जनकल्याण मावि अक्षयकोषको साधारण सभासहित स्थापना दिवस मनाइएको हो ।

साधारणसभा र स्थापना दिवसको अवसरमा जनकल्याण मावि अक्षयकोषद्वारा प्रकाशित बुलेटिनको विमोचन गर्नुका साथै जनकल्याण मावि अक्षयकोषमा आर्थिक सहयोग गर्नुहुने विभिन्न व्यक्तित्वहरुलाई अक्षयकोषको पूर्ण, विशिष्ट र आजीवन सदस्यताको प्रमाणपत्र वितरण गरिएको छ । यसैगरी जनकल्याण मावि अक्षयकोषबाट व्याजस्वरुप प्राप्त रकममध्ये नगद एकलाख रुपैयाँको चेक जनकल्याण माविलाई हस्तान्तरण गरिएको थियो ।

साधारणसभामा अक्षयकोषका सचिव एवं जनकल्याण माविका प्रधानाध्यापक कमलप्रसाद पौडेलले प्रगति, कोषाध्यक्ष तथा जनकल्याण मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकप्रसाद श्रेष्ठले आर्थिक र लेखा समिति संयोजक टंकनाथ शर्माले लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

साधारणसभा तथा स्थापना दिवस कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले जनकल्याण मावि अक्षयकोषको स्थापना, वृद्धि तथा विद्यालयको शैक्षिक क्षेत्रको विकासमा समुदायको भूमिका महत्वपूर्ण रहेकोमा प्रशंसा गर्नुभयो । उहाँले जनकल्याण माविमा सभाहलसहित अन्य भौतिक संरचना निर्माणको लागि आफूलाई लागत स्टिमेटसहितको सिफारिसपत्र पठाउन सुझाव दिँदै गरिब, निमुखा र विपन्न समुदायका विद्यार्थीहरुको पठनपाठनमा आफूले आवश्यक सहयोग गर्ने बताउनुभयो । गलेश्वर–तिनमाने–पौलस्त्य हुँदै जगन्नाथ जाने सडक विस्तार तथा स्तरोन्नतिका लागि आफूले बहुवर्षे योजनाको पहल गरेको उहाँले जानकारी दिनुभयो ।

जनकल्याण मावि अक्षयकोषका संस्थापक अध्यक्ष रामप्रसाद सुवेदीले आफ्नो कार्यकालमा विद्यालयको चौतर्फी विकासका लागि शैक्षिक गुणस्तर वृद्धि तथा भौतिक संरचनाको निर्माण र अक्षयकोषको स्थापना गरेर कक्षा ११ र १२ सञ्चालन गरिएको बताउनुभयो । धनेश्वरी–ताराना स्मृति कोषका सदस्य एवं म्याग्दी बहुमुखी क्याम्पसका सहायक प्राध्यापक रेखाकौशल रेग्मीले अक्षयकोषमा रकम वृद्धिसहित त्यसबाट आउने व्याज शैक्षिक उपलब्धि हासिल हुने क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

जनकल्याण मावि अक्षयकोषका अध्यक्ष गजिन्द्र श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष देवीदत्त पौडेलको स्वागत र सहसचिव शान्ति शर्मा पौडेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा जनकल्याण मावि शिक्षक अभिभावक संघका अध्यक्ष बलराम बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा विद्यार्थीहरुले स्वागतसहित नृत्यहरु प्रस्तुत गरेका थिए ।

वि.सं. २०७५ साल चैत १९ गते आजैको दिन जनकल्याण माविमा अक्षयकोष स्थापना गरी कक्षा ११ र १२ सञ्चालन गर्ने योजना अगाडि बढाइएको थियो । अक्षयकोषमा हाल विभिन्न १ सय १६ जना सदस्यहरुबाट झण्डै ५० लाख रुपैयाँ सङ्कलन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार