हङकङ प्रहरीमा भर्ती भएर पहिलो नेपाली महिला बनेकी म्याग्दीकी मीरा पुन मगर

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । मीरा पुन मगर (कमला) हङकङ प्रहरीमा भर्ना हुने पहिलो नेपाली महिला बन्नुभएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५,पाउद्धार घर भई हाल हङकङ निवासी २५ बर्षिया मिरा हङकङ प्रहरीमा भर्ना हुने पहिलो नेपाली महिला बन्नुभएको हो । हङकङ प्रहरीमा नेपालीहरू यसअघिदेखि नै रहेका भएपनि पहिलो पटक महिलाको भर्ना भएको हो ।

म्याग्दी प्रवासी नेपाली संघ (मोना)हङकङका अध्यक्ष कर्ण पुन मगरका अनुसार ,नेपालीको बाक्लो बसोबास रहेको याउचिमोङ, युनलोङ क्षेत्रमा हङकङ प्रहरीले सञ्चालन गरेको ‘हिमालय प्रोजेक्ट’अन्तर्गत प्रहरी तालिम पूरा गरि मीरा यही सोमबार प्रहरीमा भर्ना हुनुभएको छ । काशी पुन र दिपा बुदुजा पुनकी जेष्ठी सुपुत्री मीरा लामो समयदेखि अभिभावकसँगै हङकङमा बसोबास गर्दै आउनुभएको थियो । प्रहरीमा भर्ना भएसँगै मिरालाई उत्साहित भएका हङकङ निवासी म्याग्दीली लगायत नेपालीले बधाई सहित शुभकामना दिइरहेका छन् । ‘हङकङ प्रहरीमा भर्ना हुने पहिलो नेपाली महिला बन्नु हामी सबै नेपालीको लागि गर्वको कुरा हो ,’उत्साहित अध्यक्ष पुन मगरले भन्नुभयो । साथै उहाँले मिरालाई पेशागत सफलताको शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

प्रहरीले अल्पसंख्यक समुदाय लक्षित गरि ‘हिमालय प्रोजेक्ट’ सञ्चालन गर्दै आएको छ, जसअन्तर्गत निशुल्क चिनियाँ भाषा कक्षा, फिटनेश कक्षासहित स्थानीय समुदायसँग एकीकरण गर्न सिकाइन्छ। यो परियोजना हङकङ प्रहरीमा भर्नाका लागि तालिम दिने उदेश्यले चलाइएको हो। यो तालिम पूरा गरेका नेपाली लगायत अल्पसंख्यक समुदायका युवाहरू धमाधम प्रहरीमा भर्ना हुन थालेका छन्। करिब ३५ हजारको संख्यामा रहेको हङकङ प्रहरीमा यसअघि नै केही नेपाल पनि कार्यरत छन्। मिरा मिस मगर २०१३  विजेता समेत हुनुहुन्छ ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार