मराङमा वडा कार्यालय भवन निर्माण,गाउँपालिका अध्यक्ष पुनद्धारा उद्घाटन (फोटो फिचर)

  म्याग्दी न्युज संवाददाता

मराङ । म्याग्दीको धवलागिरी गाउँपालिका–६,मराङको वडा कार्यालय भवन शुक्रबार उद्घाटन गरिएको छ ।धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले शुक्रबार भवनको एक समारोहका बिच उद्घाटन गर्नुभएको हो । ४ कोठे १ तले भवनमा शुक्रबारदेखिनै सेवा प्रवाह शुरु गरेको वडा अध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । भवनमा वडा अध्यक्ष, सचिव, सभाहल र भण्डारण कक्ष रहेको छ । एक करोड रुपैयाँ लागत अनुमान गरिएको भवन निर्माणका लागि बि एण्ड बि कन्ट्रक्सनले गत वर्ष ८५ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

गत असारमा निर्माण सकिनुपर्ने भवन मराङ जोड्ने सडक स्तरोन्नतिका क्रममा अवरुद्ध बनेपछि निर्माण सामग्री ढुवानी गर्न समस्या हुँदा पछि ढकेलिएको निर्माण कम्पनीका प्रतिनिधि शिव बानियाँले बताउनुभयो ।भवन निर्माण सकिएपनि अन्तिम भुक्तानी पाउन बाँकी रहेको उहाँले गुनासो गर्नुभयो । वि.सं. २०७७ असार अन्तिम साताको पहिरोले आमा समूह भवनमा सञ्चालित वडा कार्यालयको सम्पूर्ण सामग्री बगाएको थियो । पहिरोले बगाएपछि मराङ स्वास्थ्य चौकीको भवनबाट वडा कार्यालयको सेवा सञ्चालन गरिएको थियो । आफ्नै भवन भएपछि सेवा प्रवाहमा सहज हुने गाउँपालिकाका अध्यक्ष पुनले बताउनुभयो । उहाँले गाउँपालिकाले सबै वडामा भवन निर्माण गर्न लागिएको बताउनुभयो । ‘भवन निर्माण भएपछि सेवा प्रवाहमा सहज हुनेछ ,’ गाउँपालिका अध्यक्ष पुनले भन्नुभयो, ’गाउँपालिको ,वडाको, शिक्षा ,स्वास्थ्य लगायत सबै क्षेत्रमा सुविधासम्पन्न भवन निर्माण गर्ने हाम्रो योजना छ । ’

धवलागिरी गाउँपालिकाको वडा नम्बर २ र ७ को भवन निर्माण कार्य सकिएर प्रयोगमा आइसकेका छन् । वडा नम्बर ५ मल्कवाङमा पनि यसअघिनै सामुदायिक भवन बनाएर वडा कार्यालय सञ्चालन गरिएको छ । घट्टखोलामा गाउँपालिकाको सुविधासम्पन्न भवन निर्माणाधिन रहेको छ । यसैगरी वडा नम्बर १ गुर्जा र ३ मुनामा स्वास्थ्य चौकीको भवन निर्माण सकिएको, मुदीमा स्वास्थ्य चौकी र ताकममा ५ शैया क्षमताको अस्पताल भवन निर्माणाधिन रहेको छ । वडा कार्यालय भवन उद्घाटन समारोहमा प्रमुख प्रशासकीय अधिकृत मोतिराम अर्याल, वडा अध्यक्षहरु देबेन्द्र रोका, याम घर्तिमगर, अमर छन्त्याल, अशोक खत्री, जिसस सदस्य श्रीप्रसाद गर्बुजा लगायतको उपस्थिति रहेको थियो । स्थानीयबासीहरुले भवन निर्माण भएको खुसीयालीमा नाचगान गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार