म्याग्दीमा पानीको मुहानमा दिसाका जीवाणु भेटियो

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीका खानेपानीको मुहानमा दिसाका जिवाणु भेटिएका छन। स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लाका विभिन्न ५९ स्थानमा गरेको खानेपानीको गुणस्तर परिक्षणमा २७ ठाउँको पानीमा खान अयोग्य जीवाणु भेटिएको थियो । झाडापखाला र आउँका विरामी धेरै भेटिएका क्षेत्रका स्वास्थ्य संस्था र समुदायको पानीको सुद्धताको अवस्था पहिचान गर्न नमुना संकलन गरेर परिक्षण गरिएको हो ।

स्वास्थ्य संस्था तथा गाउँ बस्तीका खानेपानीको मुहानबाट स्वास्थ्यकर्मीहरुले संकलन गरेको पानीको नमुनालाई बेनी अस्पतालको ल्याबमा परिक्षण गर्दा १४ प्रतिशत नमुनामा मानव मलमुत्रमा भेटिने इकोली जीवाणु भेटिएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख भुवन ठकुराठीले जानकारी दिनुभयो । उहाँका अनुसार, ३३ प्रतिशत पानीको नमुनामा कोलिफर्मका जीवाणु भेटिएको छ ।

‘‘ हामीले पाँच स्थानीय तहमा खानेपानीको सुद्धताको अवस्था हेर्न प्रतिनिधिमुलक मुहानहरुबाट पानीको नमुना लिएका थियौँ, बेनी अस्पतालको ल्याबमा डाक्टरहरुले निकालेको रिपोर्टमा धेरै पानीका मुहानहरु प्रदुषित र पानी पिउन अयोग्य रहेको देखिएको छ, हामीले नमुना संकलन गरेका मुहानको पानीको रिपोर्ट स्थानीय तहहरुलाई उपलब्ध गराएका छौँ’’– उहाँले भन्नुभयो ।

पानीको सुद्धता परिक्षणमा नमुना संकलन गरेका मध्ये गलेश्वर ज्येष्ठ नागरिक आश्रम, तातोपानीको खालीखोला, रुम स्वास्थ्य चौकी, बिम स्वास्थ्य चौकी लगायतका स्थानमा उपभोग हुने खानेपानीमा समेत इकोलीको जीवाणु भेटिएको छ । खानेपानी उपभोगका लागि अयोग्य देखिएका मुहानको सरसफाई र खानेपानीको सुद्धतामा स्थानीय तह र स्थानीय सरोकारवालाहरुलाई आग्रह गरिएको स्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य निरिक्षक भिम आचार्यले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयले खानेपानीको नमुना संकलन गरेको मध्ये बेनी नगरपालिकामा १६ वटा नमूनामध्ये ९ वटा, मालिका गाउँपालिकामा ८ वटामध्ये ७ वटा , धवलागिरी गाउँपालिकामा ३ वटै नमुनामा पानी उपभोग गर्न अयोग्य जीवाणु भेटिएका थिए । त्यसैगरि रघुगंगामा १४ नमुनामध्ये ५ वटा र अन्नपूर्णमा १८ नमुनामा ३ वटामा खानेपानी उपभोग गर्न अयोग्य जीवाणु भेटिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार