बधस्थलमा मरेको भैंसी काट्दै गरेको अवस्थामा फेला

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२,हाडेभिरमा बिरामी भएर मरेको भैंसी काट्दै गरेको अवस्थामा रंगेहात फेला पारी कारवाहीको प्रक्रिया अगाडी बढाइएको छ । ग्रामिण क्षेत्रमा रहेका कृषकको गोठबाट सिकिस्त बिरामी अवस्थामै ल्याइएको भैसी बधस्थल बाहिरै काट्दै गरेको अवस्थामा सर्वसाधारणले दिएको सूचनाको आधारमा सुरेश दर्जी सहितको टोलीलाई रंगेहात समातिएको बेनी नगरपालिका पशु शाखाले जनाएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. भरत रेग्मी, बेनी नगरपालिका पशु शाखाका चिकित्सक चिन्तामणी शर्मा, नेपाल प्रहरी र नगरप्रहरी सहितको टोलीले अनुगमनको क्रममा खरिद गरी ल्याउँदै गरेको अवस्थामा बधस्थल बाहिर नै मरेपछि हतारमा काट्दै गरेको अवस्थामा फेला पारेको बेनी नगर पशु शाखाका चिकित्सक शर्माले बताउनुभयो ।‘बिरामी भैसी ल्याउँदै गर्दा बधस्थल बाहिर नै मरेपछि साँझपख काट्दै गरेको अवस्थामा फेला पायौं, कानुनी कारवाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ’ पशु चिकित्सक शर्माले भन्नुभयो ।

पशु बिक्रेता र खरिद गर्ने दुबैले बिरामी अवस्थामा बिक्री गरेको र ल्याउँदै गर्दा बधस्थल नजिकै मरेको स्वीकार गरेको बेनी नगरपालिका पशु शाखाका चिकित्सक चिन्तामणी शर्माको भनाई छ । मासु ब्यवसायी दर्जीलाई खाद्य ऐन अनुसार कारवाहीका लागि सिफारिस गरिएको छ । मरेको भैसी नजिकै खाल्टो खनेर बिर्सजन गरिएको थियो । नगरपालिकाकै सक्रियतामा बनाइएको बधस्थलबाट बेनीबजार तथा आसपासका क्षेत्रमा राँगा र भैसी मासुको खपत धेरै हुन्छ ।

पशु बधशाला र मासु जाँच ऐन ०५५ तथा नियमावली ०५६ मा पशु काट्नुअघि र काटेपछि मासु जाँच्नुपर्छ प्रावधान भएपनि म्याग्दीमा जनशक्तीको अभाव भन्दै मासु ब्यवसायीले राँगा र भैसी बिना परीक्षण काट्ने गरेका छन् । बधशालामा राँगाको तुलनामा भैसी धेरै काट्ने गरिएपनि प्रभावकारी अनुगमन हुने गरेको छ । पछिल्लो समय दुग्धपालक कृषकको संख्या बढेसँगै थारा भैसी सस्तो मुल्यमा कटाउने गरेपनि ब्यवसायीले राँगाकै सहर भैसीको मासुको मुल्य लिने गरेका छन् । बेनीको बधस्थलको अवस्था सधै लथालिंग छ । मासु र फोहोर सँगसँगै राखेको, हडीहरूमा किरा परेको, मासु काट्ने स्थान अत्यधिक फोहोर हुने गरेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार