बागलुङको तिजगीत प्रतियोगितामा क्षत्री समाज म्याग्दी प्रथम

  म्याग्दी न्युज संवाददाता

बेनी ।महिलाहरुको महान् पर्व हरितालिका तिजको अवसर पारेर बागलुङमा आयोजित दोस्रो खुल्ला तिजगीत प्रतियोगिता–२०८१ मा क्षत्री समाज म्याग्दी प्रथम भएको छ । शनिवार र आइतबार बागलुङ बजारमा सम्पन्न तिजगीत प्रतियोगितामा कुल सहभागी ३० टिमलाई हराउँदै क्षत्री समाज म्याग्दीले उपाधि जितेको हो ।

उक्त प्रतियोगितामा डनसाइड एकेडेमी अमलाचौर बागलुङ दोस्रो, कृषि ज्ञान केन्द्र बागलुङ तेस्रो र जिल्ला महिला नगर संघ बागलुङ सान्त्वना भएका छन् । यसैगरी प्रतियोगितामा क्षत्री समाज बागलुङ नगरपालिका–८, बागलुङ र गौरीधाम शिवमन्दिर समुह बागलुङ उत्कृष्ट घोषित भएका थिए । विजयी टिमहरुलाई क्रमशः नगद २० हजार, १५ हजार, १० हजार, पाँचहजार र दुईदुई हजार रुपैयाँसहित प्रमाणपत्रले सम्मान गरिएको थियो ।

पछिल्लो समय तिज पर्वको महत्व हराउँदै गएको अवस्थामा तिजको मौलिकता, कला, संस्कृति, परम्परा, गाउँले जनजीवन र समसामयिक विषयवस्तुलाई समेटेर सन्देशमूलक तिजगीत प्रस्तुत भएका थिए । ‘धार्मिक सहिष्णुता र जातीय सद्भाव हाम्रो अभियान, लोक संस्कृतिको संरक्षणमा एकजुट भई गरौं योगदान’ भन्ने मूल नारासहित क्षत्री समाज बागलुङको सहयोगमा क्षत्री महिला समाज बागलुङ र क्षत्री नगर समाज बागलुङको संयुक्त आयोजनामा तिज पर्वलाई लक्षित गरेर दोस्रोपटक खुल्ला तिजगीत प्रतियोगिता आयोजना गरिएको थियो ।

नेपाली समाजमा मनाइने चाडपर्वहरुमध्ये निकै महत्वपूण मानिने तिज पर्वको वर्तमान सन्दर्भमा हराउँदै गएको परम्परा तथा पछिल्लो समय आधुनिकताले पारेको प्रभावविरुद्ध तिजको सन्देश दिने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको क्षत्री महिला समाज बागलुङले जनाएको छ । प्रतियोगिताका विजयी टिमहरुलाई क्षत्री समाज बागलुङका अध्यक्ष भावना खड्का, नगर समाज अध्यक्ष एकबहादुर केसी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

तिजगीत प्रतियोगितामा विजयी भई प्रथम पुरस्कार हात पारेपछि खुसी व्यक्त गर्दै क्षत्री समाज म्याग्दीका अध्यक्ष लक्ष्मी केसीले तिजगीत प्रतियोगितामा भाग लिने अवसर दिएकोमा क्षत्री समाज बागलुङप्रति आभार प्रकट गर्नुभयो । उहाँले आगामी दिनमा पनि क्षत्री समाज म्याग्दीको तर्फदेखि यस्ता कला, संस्कृतिको संरक्षण तथा प्रचारप्रसार हुने कार्यक्रमहरुमा सहभागिता जनाउने बताउँदै कार्यक्रममा सहभागी भई विजयी हासिल गर्ने कलाकारलाई समेत धन्यवाद दिनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार