विराटनगरमाथि जनकपुरको सहज जित

  म्याग्दी न्युज संवाददाता

काठमाडौँ —लाहिरु मिलान्थाको अविजित ७५ रनमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विजयी सुरुआत गरेको छ । जनकपुरले एनपीएलको पहिलो खेलमा शनिबार विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको हो ।

श्रीलंकामा जन्मिएका अमेरिकन खेलाडी मिलान्थाले ५३ बलमा अविजित ७५ रन बनाएपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जनकपुरले १ सय २८ रनको लक्ष्य १५.३ ओभरमै १ सय ३१ रन बनाउँदै पूरा गर्‍यो । लाहिरुले ९ चौका र ३ छक्का प्रहार गर्नुभएको थियो।

लाहिरुले हर्ष ठाकेरसँग तेस्रो विकेटका लागि १ सय १६ रनको अविजित साझेदारी गर्दै जनकपुरलाई आरामदायी विजयी दिलाउनुभएको हो। ठाकेरले ३३ बल खेली २ चौकासहित २९ रन बनाउनुभयो । स्कोर बराबरी रहेको अवस्थामा उहाँले नै निकोलस कृतनको बलमा विजयी चौका प्रहार गर्नुभयो।

विराटनगरको अनियन्त्रित बलिङको जनकपुरले फाइदा उठायो । विराटनगरले अतिरिक्तमै २२ रन दिएको थियो । क्रिस सोलले पहिलो ओभरमै ३ वाइड फाल्नुभएको थियो, जसमा इनिङ्सको पहिलो बल लेग साइडमा चौका गएको थियो । सोलले नै आसिफ शेखलाई पहिलो ओभरमा शून्यमा बोल्ड गर्नुभएको थियो। कप्तान अनिल साह पनि ५ रनमा बनाई प्रतिश जीसीको बलमा बोल्ड भए ।

यसअघि मार्टिन गप्टिलको अर्धशतक बनाए पनि टस हारेर ब्याटिङमा आएको विराटनगर १९ ओभर खेली १ सय २७ रनमा अलआउट भएको थियो ।

गप्टिलले ४३ बलमा ५५ रन बनाउनुभयो । न्युजिल्यान्डका पूर्वओपनर उहाँले ७ चौका र १ छक्का प्रहार गरर्नुभयो । १३ औं ओभरमा उहाँले बेन माइकलाई स्ट्रेट छक्का प्रहार गरी आफ्नो अर्धशतक पूरा गर्नुभएको थियो। त्यसको अर्को ओभरमा हर्ष ठाकरले उहाँलाई लङ अनमा कप्तान अनिल साहबाट क्याच गराउनुभयो ।

विराटनगरको सुरुआत राम्रो थिएन । खेलको पहिलो ओभरमा चौका प्रहार गरेका लोकेश बमलाई दोस्रो ओभरको पहिलो बलमा ललित राजवंशीले बोल्ड गर्नुभएको थियो। बमले ५ रनमात्र बनाउन सक्नुभयो। अकिब इल्यासले पनि १८ बलमा १५ रनमात्र बनाउन सक्नुभयो।

ओमानका पूर्वकप्तान इल्यासलाई मोहम्मद मोहसिनले एलबीडब्लु आउट गर्नुभयो। गप्टिल र इल्यासबाहेक विराटनगरबाट अन्यले दोहोरो स्कोर बनाउन सकेनन् । कान्तिपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार