गलेश्वरमा शतबीज छर्नेको भिड (फोटो/भिडिओ)

  साधन राम्जाली/धनिलाल गर्बुजा

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९,स्थित प्रसिद्ध गलेश्वर शिवालयमा शनिबार बिहानैदेखि बाला चतुर्दशीका दिन शतबीज छर्ने र दीप दान गर्नेहरूको भिड लागेको छ । पशुपतिनाथको रूपमा परिचित गलेश्वर धाममा रातिदेखि नै टाढा टाढाका भक्तजनहरू आएका छन् ।

गलेश्वरमा रात भरी भजन कीर्तन गर्दै जाग्राम बसेर बाला चतुर्दशीको दिन बिहानै कालीगण्डकीमा स्नान गरी पितृको स्मरण गर्दै दीप दानसहित शतबीज छर्ने प्रचलन रहेको छ।दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै शतबीज छर्ने चलन छ । कास्कीको माछापुछे्र गाउँपालिकाबाट आउनुभएका पुर्णभद्र ढुङ्गानाले बाला चतुर्दशीमा सतबीज छर्नाले मोक्ष प्राप्त हुने विश्वास रहेको बताउनुभयो । म्याग्दीको मालिका गाउँपालिका–४,फुलबारीबाट आउनुभएका बलराम शर्माले शतबीजबाट उम्रेर आएको अन्न दिवङ्गतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास व्यक्त गर्नुभयो । साथै , उहाँले यहाँ आएर शतबीज छर्नाले अनिकाल नहुने बताउनुभयो ।

भिडिओ

भक्तजनलाई नेपाल प्रहरी, जनपथ प्रहरी,विद्यार्थी लगायत विभिन्न सङ्घसंस्थाका स्वयंमसेवकहरुले मन्दिरको प्रवेशद्धारदेखि नै भक्तजनको सेवामा खटिएका छन् । अनुकूल मौसम र सहज व्यवस्थापनका कारण भक्तजनको भिड लागेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो । मेलालाई व्यवस्थित बनाउन कोषका अध्यक्ष रेग्मीको अध्यक्षतामा मुल र अन्य उपसमितिहरु गठन गरिएको छ ।

सदरमुकाम बेनीदेखि तीन किलोमिटर टाढा रहेको गलेश्वरमा पुजा अर्चना गर्नका लागि म्याग्दी, पर्वत, बागलुङ, नवलपरासी, चितवन, कास्की, काठमाडौँ लगायतका जिल्लाहरुबाट बिहानैदेखि श्रद्धालु भक्तजनहरू आएका छन् । काली गण्डकी नदी किनारमा ९ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि अवस्थित गलेश्वरलाई विश्वकै अलौकिक धार्मिक स्थल भन्ने गरिन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार