संघीयतालाई थप सुदृढ गर्नेगरी संविधान संशोधन हुन्छ : गृहमन्त्री लेखक

  म्याग्दी न्युज संवाददाता

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालाई थप सुदृढ गर्नेगरी संविधान संशोधन हुने बताउनुभएको छ । आइतबार चितवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो।

गृहमन्त्री लेखकले संविधान संशोधनको विषयमा दुई राजनीतिक दलहरूले प्रारम्भिक छलफल सुरु गरिसकेको बताउनुभयो । उहाँले संविधान संशोधन दुई वटा राजनीतिक दलहरूले गरेर मात्रै नहुने भन्दै दुई राजनीतिक दलहरूको पहलमा सबै राजनीतिक दलहरूसँगको समन्वयबाट हुने बताउनुभयो।

गृहमन्त्री लेखकले संविधानको अभ्यासका क्रममा देखिएका सबल र दुर्बल पक्षलाई छनोट गर्ने र सबै राजनीतिक दलहरूबिच सहमतिका साथ संविधान संशोधन गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले संविधान संशोधनको कुरा गरेका छौँ । संविधान संशोधनलाई विभिन्न हिसाबले व्याख्या हुने गरेको छ । हामीले संविधान संशोधन गर्ने भनेको पनि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालाई थप राम्रो, थप सुदृढ र थप बलियो बनाउनका लागि गर्ने भनेको हो । हामीले संविधान संशोधनको विषयलाई पनि दुई राजनीतिक दलहरूले प्रारम्भिक छलफल सुरु गरेका छौँ ।’

गृहमन्त्री लेखकले वर्तमान सरकार परिवर्तन हुने कुनै सम्भावना नरहेको बताउनुभयो । एमाले र कांग्रेसबिच भएको सहमतिअनुसार नै वर्तमान सरकार अघि बढ्ने बताउनुभयो। रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार