बेनी । म्याग्दी जिल्लामा सञ्चालित ठूला विकास आयोजनाको पटक–पटक म्याद थप गरिएको समयमा सम्पन्न हुन नसकेको अवस्थामा अब तोकिएको समयमा सम्पन्न नभए म्याद थप नगर्न सम्बन्धित निकायलाई दवाव दिएको प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा ‘खम्बिर’ले बताउनुभएको छ । पटक–पटक म्याद थप गर्दा ठूला योजनाहरु बषौंदेखि अलपत्र परेको अवस्थामा अब थप नगरी कालोसुचीमा राखेर कारबाही गर्नुपर्ने सांसद गर्बुजाको भनाइ छ ।
सोमबार उत्तरी म्याग्दीमा मतदाता भेटघाटमा सांसद गर्बुजाले बेनी अस्पतालको भवनलाई यसै आवमा भित्र पूर्णता दिन आवश्यक परेमा अतिरिक्त बजेटका लागि समेत सम्बन्धित निकायको ध्यानार्कषण गराएको बताउनुभयो । ‘अब म्याद थप हुदैन, म्याग्दीमा निर्माणधिन अवस्थामा रहेका आयोजनाहरुको समयमै सम्पन्न नभए कालोसूचीमा राख्न दबाब दिएको छु’ सांसद गर्बुजाले भन्नुभयो ।
त्यस्तै बेनी–जोमसोम, बेनी–दरवाङ, पोखरेबगर–शिख–चित्रे–घोडेपानी, बेनी–मालढुंगा लगायत सडकका बारेमा सम्बन्धित निकायलाई निरन्तर समयमै सम्पन्न गर्न दबाब दिएको बताउनुभयो । ‘यो अवभित्र धेरै योजनाहरुले गति लिन्छन्, लामो समयसम्म अलपत्र पर्नुमा कमजोर वित्तिय अवस्था भएका ठेकेदारले जिम्मेबारी लिनु हो’ सांसद गर्बुजाले भन्नुभयो ।
निर्माण व्यवसायीले पर्याप्त मात्रामा जनशक्ति र उपकरण परिचालन नगर्ने ठेकेदारलाई जनस्तरबाट पनि दबाब दिन अनुरोध गर्नुभयो । यसैबीच सोमबार नै ज्ञानप्रकाश मावि दानको ४९ औं अभिभावक दिवसको अवसरमा बोल्दै सांसद गर्बुजाले जिल्लामा विकास निर्माण सहित खेलकुद गतिविधिलाई समेत अगाडी बढाउन आफ्नो सहयोग हुने बताउनुभयो । उहाँले जिल्ला भलिबल संघले कवर्ड हल निर्माणको प्रस्ताव गरेको बताउँदै उक्त प्रस्तावमा आफ्नो तर्फबाट सहयोग तथा संघीय बजेटका लागि समेत पहल गर्ने बताउनुभयो ।
सोही अवसरमा सदरमुकाम बेनीमा रहेको खुल्लामञ्चलाई बजेट विनियोजन गराउन गरेको पहल अहिलेसम्म सफल नभएपनि आफ्नो कार्यकालभित्र बजेट आउने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै सरकारी सेवाप्रवाहमा कुनै समस्या भएमा वडादेखि नै समन्वय गर्ने र जिल्ला, प्रदेश र संघीय सरकार मातहतका सरकारी निकायमा काम ढिलासुस्ती भएमा खवर गर्न समेत अनुरोध गर्नुभएको थियो । अभिभावक दिवसमा अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष दिवाकुमारी पुन तिलिजाले उत्तरी म्याग्दीमा संघीय र प्रदेशबाट बजेट कम आएको बताउँदै आफुँहरु संघीय सांसद गर्बुजासँग नजिक रहेका विकास निर्माणका कार्यहरुमा सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो । म्याग्दीका आवश्यक पूर्वाधार प्राथमिकतामा नपर्दा जनतामा गुनासो बढेको बताउँदै कार्यक्रममा बोल्ने अन्य बक्ताले समेत बजेट विनियोजनमा प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।
अभिभावक भेलाको अवसरमा दुर्गाप्रसाद स्मृति कोषबाट संस्थापक कृष्ण तुलाचनले विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई करिब १ लाख नगद पुरस्कार वितरण गर्नुभएको थियो । त्यस्तै शंख बहादुर स्मृति कोषबाट ५० हजार, सृजना महिला सहकारीबाट १९ हजार, चन्द् कुमारी स्मृति कोषबाट ६ हजार र विद्यालयले समेत विधागत पुरस्कारहरु वितरण गरेको थियो ।अभिभावक भेलामा सांस्कृति कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो । वडा अध्यक्ष रमेश पूर्जा, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष हस्तबहादुर पूर्जा, शिक्षा विकास कोषका अध्यक्ष कृष्ण तुलाचनले विद्यालयको शैक्षिक र खेलकुद क्षेत्रमा प्राप्त सफलताका बारेमा चर्चा गर्नुभएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पूर्जाको अध्यक्षता, स्वागत प्रअ शान्तबहादुर नेपाली, उच्च मावि संयोजक बाबुराम पौडेलले गर्नुभएको कार्यक्रमको सञ्चालन रेगुन खत्रीले गर्नुभएको थियो । यसैबीच अभिभावक दिवसको अवसरमा आयोजित भलिबल प्रतियोगितामा छात्रतर्फ प्रथम ज्ञानप्रकाश मावि, द्धितिय प्रकाश मावि भएको थियो भने छात्रा बेनी सामुदायिक मावि प्रथम, द्धितिय प्रकाश मावि भएको थियो ।
उत्कृष्ट नतिजा ल्याउने तीन विद्यार्थीलाई ‘निम्स दाइ’ फर एजुकेशनले ठुलो धनराशीको पुरस्कार
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानामा अवस्थित ज्ञानप्रकाश माध्यामिक विद्यालयबाट आधारभुत, मावि र उच्च माविमा उत्कृष्ट अंक ल्याउने ३ विद्यार्थीले २ लाख ३० हजार नगद पुरस्कार पाएका छन् । आरोही निर्मल पुर्जाले स्थापना गरेको ‘निम्स दाइ’ फर एजुकेशनले कक्षा १२ मा ब्यवस्थापन संकायतर्फ उत्कृष्ट नतिजा ल्याउने सन्तोष विकलाई नगद १ लाख नगदसहित सम्मानपत्रले सम्मान गरिएको छ ।
पर्वतारोहणको क्षेत्रमा दर्जन किर्तिमानी कायम गरेका पुर्जाले विद्यालयमा स्थापना गरेको ४० लाखको अक्षयकोषबाट गतवर्षको एसइईमा विद्यालय प्रथम हुने रिचा केसी ८० हजार र कक्षा ८ मा प्रथम हुने आगमन सोनामले नगद ५० हजार नगद र सम्मानपत्र प्राप्त गरेका छन् ।
उत्कृष्ट विद्यार्थीलाई म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजा, अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष दिवाकुमारी पुन तिलिजा, आरोही पूर्जाका दाजु जितबहादुर पुर्जा, फाउण्डेशनका कर्मचारी गोविन्द बरुवालले पुरस्कार वितरण गरेका थिए । सोही अवसरमा दानामा रहेका सरस्वती आमावि, ज्योति आमावि, सुवा आमावि, जनकल्याण आमाविमा रहेका विद्यार्थी अनुसार नगद र ज्ञानप्रकाश माविको शैक्षिक विकासका लागि १ लाख ४९ हजार सहयोग गरिएको थियो ।
पुरस्कार तथा सहयोग वितरण कार्यक्रममा नेपाल शिक्षक महासंघ म्याग्दीका अध्यक्ष जयराम सुबेदी, शिक्षा विकास कोषका अध्यक्ष कृष्ण तुलाचन, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पूर्जाले उक्त पुरस्कारले विद्यार्थीको पढाइमा प्रतिस्पर्धा हुने र उच्च शिक्षामा समेत सहज हुने बताएका थिए । अन्नपूर्ण–३ ,दानामा जन्मिएका पूर्जाले विश्वका ८ हजार मिटरभन्दा अग्ला संसारका १४ वटा हिमालमा अक्सिजन र विना अक्सिजनको सहायतामा ४८ पटक अरोहण गरेका छन् । विश्वका सातै महादेशमा रहेका अग्ला हिमालको आरोहण गरेका आरोही पूर्जाले फाउण्डेशनमार्फत नेपाल तथा विश्वका विभिन्न देशमा सहयोग गर्ने गरेका छन् ।