महभीरको रितुङमा एक घरमा आगलागी हुँदा करिब ६० लाख बराबरको क्षति

  म्याग्दी न्युज संवाददाता

दरबाङ। म्याग्दीको मालिका गाउँपालिका-४, महभीर स्थित रितुङमा आगलागी हुँदा करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ । सोमबार साँझ ६:४० बजेको समयमा स्थानीय भीम गुरुङको दुई तले  कच्ची ( ढुङ्गा र माटोले बनेको ) घरमा आगलागी हुँदा घर भित्र रहेका सम्पूर्ण लत्ताकपडा ,मौरीको ५ घार , खाद्यान्न सामाग्री , नगद दुई लाख , आधा तोला सुन ,करिब बीस मुरी कोदो ,मकै लगायत अन्नपात जलेर नष्ट भएको वडा सदस्य गर्भे गुरुङले जानकारी दिनुभयो ।

साथै सोही आगलागीमा पेन्सन पत्ता , चालिस लाख रुपैयाँ बढीको तमसुक कागजात समेत जलेर नष्ट भएको छ । विद्युत शर्त भएर वा अन्य के कारणले आगलागी भएको भन्ने बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

गाउँपालिका अध्यक्ष बेग प्रसाद गर्बुजा सहित स्थानीय जनप्रतिनिधि मंगलबार घटनास्थलमा पुग्नुभएको थियो । आगलागी पीडित गुरुङ परिवार आफन्तकोमा बसेका छन् । सोमबार तमु ल्होसार पर्व मनाएर घर फर्किदा घरमा आगलागी भएको देखिएको पीडित गुरुङको भनाइ छ । पीडित परिवार सहित छिमेकी समेत पर्व मनाउन गएकोले आगलागी नियन्त्रणमा ढिलाइ भएको हो । रेडक्रस ,स्थानीयवासी ,स्थानीय क्लब , आमा समूहले केहि राहत सामग्री उपलब्ध गराएको वडा सदस्य गुरुङको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार