म्याग्दीले यो वर्ष ३० कराेडभन्दा धेरैकाे सुन्तला बेच्दै

  म्याग्दी न्युज संवाददाता

बेनी । ग्रामीण भेगका बस्तीसम्म सडक पहुँच पुगेपछि सुरु भएको व्यावसायिक सुन्तला खेतीका कारण म्याग्दीमा यो वर्ष सुन्तलाबाट मात्रै ३० करोडभन्दा बढी आम्दानी हुने प्रक्षेपण गरिएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले यस वर्ष अनुकूल मौसम, रोग किराको प्रकोप नरहेका कारण यति आम्दानी हुनसक्ने प्रक्षेपण गरेको हो ।

कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख संजिव बास्तोलाले बेनी नगरपालिका ३ र ४ वडाका मरेक, राखु, सुर्केमेला, थामडाँडा र बास्कुनाका करिब एक सय ३० घरले मात्र ५ करोड ५० लाख रुपैयाँ हाराहारी मूल्यका सुन्तला बेच्ने अनुमान सुनाउनुभयो ।

उहाँले बेनी नगरपालिका-४ सुर्केमेला, बास्कुनाका अगुवा कृषकहरु सन्दीप केसीले २२ लाखमा, डिलबहादुर केसीले १४ लाखमा र तिलक गुरुङले १४ लाखमा सुन्तला बगान एकमुष्ठ बेचेर आम्दानी गरेको पनि बताउनुभयो ।

कृषि ज्ञान केन्द्रको प्रारम्भिक अभिलेखअनुसार गत वर्ष बेनी-३ मरेकबाट मात्रै ८० लाखको सुन्तला बिक्री भएको थियो । यो वर्ष यहाँबाट वर्ष १ करोड ५० लाखको सुन्ताला बिक्री हुने प्रक्षेपण गरिएको उहाँले बताउनुभयो। ज्ञान केन्द्रका अनुसार गत वर्ष बास्कुना गाउँबाट १ करोडको सुन्तला बिक्री भएकोमा यस वर्ष २ करोडमा सुन्तला बिक्री भएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले म्याग्दीमा ८ सय १० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने र सडकले ढुवानी सहज हुन थालेपछि कृषकले सुन्तलालाई व्यावसायीकरण गर्ने प्रयत्न थालेको बताउनुभयो। कान्तिपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार