फेदीमा ढुंगा खसेर एक बालक घाइते, दुई घरमा क्षति

  म्याग्दी न्युज संवाददाता

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–५ फेदीमा पाखोबाट खसेको ढुंगाले दुई घरमा क्षति पुर्‍याउनुका साथै एक बालकलाई घाइते बनाएको छ । शनिबार साँझ बस्तीतर्फ खसेको ढुंगाले स्थानीय रामबहादुर घर्ती र चनमाया श्रेष्ठको घरमा क्षति पुगेको हो ।

ढुंगाले लागेर चनमाया श्रेष्ठको घरमा बस्दै आएका जनप्रिय माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत ११ वर्षीय सिर्जन भण्डारी घाइते भएको स्थानीय गोपाल प्रसाद रेग्मीले बताउनु भयो ।

घाइते सिर्जनको दरवाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको अवस्था सामान्य रहेको र खतरा नरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सीनाले जानकारी दिनुभयो ।

पाखोबाट खसेको ठूलो ढुंगाका कारण घरको छानोसमेत भत्किएको छ । घटनापछि सम्भावित थप जोखिमलाई मध्यनजर गर्दै स्थानीयले बस्ती नै खाली गरेका छन् ।

फेदीका स्थानीय रिमप्रकाश थापाका अनुसार रातको समयमा थप ढुंगा तथा पहिरो खस्न सक्ने जोखिम रहेकाले फेदीका सात घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । उनीहरूलाई तल्लो फेदी बस्तीमा राखिएको छ ।

यसैबीच, फेदीमा रहेको दरवाङ–म्याग्दीखोला जलविद्युत आयोजनाको क्याम्पसमेत खाली गरिएको छ । क्याम्पमा रहेका मजदुरलाई सुरक्षित स्थानका लागि दरवाङ पठाइएको छ ।

म्याग्दी र दाङखोलाको किनार तथा भिरालो पहाडको फेदीमा बस्ती रहेकाले वर्षायाममा यहाँ पहिरो तथा ढुंगा खस्ने जोखिम उच्च हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार