सिमानामा प्रवासी मजदुरको सागर आइपुग्यो, परीक्षण गर्ने किट आइपुगेन

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी भन्छन्, ‘आरडिटी किट छैन, किट किन्न प्रक्रिया अगाडि बढाएका छौँ । त्यतिन्जेलसम्म क्वारेन्टाइनमा राख्न स्थानीय तहलाई भनेका छौँ’

काठमाण्डौं ,सोमबार जेठ १२ गते ।

धनगढीको गौरीफन्टा नाकामा आइतबार आइपुगेका मजदुर । आइतबार मात्रै सो नाकाबाट तीन हजार नौ सय ५० भित्रिए, कसैको पनि टेस्ट गरिएन । अन्य नाकामा पनि आरडिटी किट नभएकोले परीक्षण रोकिएको छ । रोजगारीका लागि भारतका विभिन्न सहर गएका नेपाली लस्करका लस्कर स्वदेश फर्किरहेका छन् । तर, किट अभावका कारण उनीहरूलाई स्वास्थ्य परीक्षण नगरी घर फर्काइँदै छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार आइतबार मात्रै गौरीफन्टा नाकाबाट तीन हजार नौ सय ५० जना भित्रिएका छन् । ३ जेठयता करिब साढे ११ हजार नेपाली फर्किएको उनले बताए ।

नाकामा स्वास्थ्य परीक्षण सम्भव नभएकाले सम्बन्धित स्थानीय तहहरूलाई क्वारेन्टाइनमा राख्न प्रदेश सरकारले समन्वय गरिरहेको प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताए । ‘आरडिटी किट र जनशक्ति अभावले नाकामा स्वास्थ्य परीक्षण गर्न सकिएन, सबैलाई क्वारेन्टाइनमा राखेर १४ दिनभित्र जाँच गर्न स्थानीय तहहरूलाई भनेका छौँ,’ उनले भने ।

तस्बिर : नयाँ पत्रिका जिल्ला ब्युरो

संघीय सरकारसँग आरडिटी किट माग गरिएको र प्रदेश सरकार आफैँले पनि खरिद गर्न लागेको मन्त्री सुवेदीले बताए । तीस हजार आरडिटी किट र पिसिआर जाँचका लागि दुई हजार भिटिएम खरिद प्रक्रिया प्रदेश सरकारले अगाडि बढाएको उनले बताए । प्रदेशभर हालसम्म २५ हजार एक सय ३८ जनाको कोरोना परीक्षण गरिएको छ ।

तस्बिर : नयाँ पत्रिका जिल्ला ब्युरो

चार हजार चार सय ६ को पिसिआर र बाँकीको आरडिटी विधिबाट परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयका कोरोना फोकल पर्सन नरेन्द्रसिंह कार्कीले बताए । यो समाचार नयाँ पत्रिका दैनिकमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार