काठमाडौं । महानगरीय ट्राफिक महाशाखाले मोटरसाइकल चोरीको अभियोगमा चारजना पक्राउ गरेको छ । चोरीका २ वटा मोटरसाइकलसहित चारजनालार्य काठमाडौंबाट पक्राउ गरिएको हो । गत वर्ष जेठ र माघ महिनामा हराएको बा ९६ प ५४९४ र बा ९४ प ४४६९ नम्बरको मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका–६ क्यानखोलाका २१ वर्षीय प्रकाश तामाङ, सिन्धुलीकै तीनपाटन गाँउपालिका–५ भिमस्थानका ३२ वर्षीय अम्मर तामाङ र सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका–८ का २० वर्षीय सुरेश तामाङ तथा ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–६ का ३३ वर्षीय भोला थापा छन् ।
महाशाखाका अनुसार तामाङत्रयले २०७६ माघ १० गते काठमाडौंको चन्द्रागिरी नगरपालिका–१३ नैकापका पूर्ण राउतको बा ९४ प ४४६९ नम्बरको मोटरसाईकल चोरेर नम्बर परिवर्तन गरी चलाउँदै आएका थिए ।
त्यस्तै ओखलढुंगाका थापाले २०७६ जेठ २७ गते काठमाडौं बालुवाटारका दीपक खड्काको बा ९६ प ५४९४ नम्वरको मोटरसाइकल चोरेर नम्बर परिवर्तन गरी बा ९० प ७३८६ बनाएर चलाउँदै आएका थिए । पक्राउ परेका सबैलाई प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
बिशेषगरी काठमाण्डौका सार्वजनिक स्थल र एकान्तमा पार्किङ्ग गरी राखिएका मोटरसाइकलहरु चोरी हुने गरेको तथ्याङ्कबाट देखिएको छ । सवारीसाधन चोरीबाट बच्नका लागि सवारी साधनमा अतिरिक्त लकको प्रयोग गर्न, आलराम लगायत उपकरण जडान गर्न, घर कम्पाउण्डमा पार्किङ्ग गरेको भनी ढुक्क नपर्न र एकै छिन हो भनी अतिरिक्त लक लगाउन अल्छी नगर्न समेत ट्राफिक महाशाखाले अनुरोध गरेको छ । नागरिक खबरबाट साभार