काठमाडौं । वीरगञ्ज महानगरपालिका–५, रेशमकोठीमा रहेको गणेश अपार्टमेन्टबाट बरामद साढे २३ किलो सुनका मालिक प्रहरीले भेटाउन सकेन । सुन मालिक नभेटिएपछि प्रहरीले राजश्व अनुसन्धान विभागको पथ्लैयास्थित कार्यालयमा बरामद सुन, चाँदीसहितका गरगहना बुझाएको छ ।
विभागले सुनलाई लिलाम बिक्री गर्ने तयारी गरेको छ । बिक्रीबाट आएको रकम राज्यकोषमा जम्मा हुनेछ । जिल्ला प्रहरी कार्यालय, पर्सा र इलाका प्रहरी कार्यालय, विर्ताको संयुक्त टोलीले १ मंसिरमा छापा हानेर २२ केजी ५७६ ग्राम सुनका बिस्कुटहरु, ५७६ ग्राम सुनका गरगहना र दुई केजी २ सय ६२ ग्राम चाँदीको गहना तथा भाडाकुडा बरामद गरेको थियो ।
त्यसवेला प्रहरीले पत्रकार सम्मेलन गरेर लामो समयदेखि सुन त्यहाँ राखिएको हुनसक्ने देखिएको बताएको थियो । प्रहरीले दुई दिनसम्म रेकी गरेर गरेको सर्च अपरेशनका क्रममा मक्किएको दराजमाथि सुन बरामद भएको हो । अनलाइनखबरबाट साभार