म्याग्दी । रघुगंगा गाउँपालिका भलिबल संघको दोस्रो अधिवेशनबाट पूर्वभलिबल खेलाडी सरोज कुमार मल्लको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । अधिवेशनले संघको उपाध्यक्षमा भीम थापा, सचिवमा अशोक खत्री र कोषाध्यक्षमा खिमा छन्त्याललाई चयन गरेको छ ।
तेस्तै सदस्यमा भगवान खत्री, दिलमाया गोतामे र दुर्गा छन्त्याल चयन भएका छन् । अशोक कुमार शाही र गंगा तिलिजालाई सल्लाहकारको जिम्मेवारी दिइएको म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँ क्षेत्रीले जानकारी दिनुभयो ।

नवनिर्वाचित कार्यसमितिले रघुगंगा क्षेत्रमा भलिबल खेलको विकास, विस्तार र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राख्ने जनाएको छ । स्थानीयस्तरमा प्रतिभावान खेलाडीको पहिचान तथा उत्पादन, नियमित प्रशिक्षण, प्रतियोगिता आयोजना र खेलाडीलाई आवश्यक अवसर सिर्जना गर्ने योजना संघको छ ।
त्यसैगरी, म्याग्दी भलिबल कभर्डहल निर्माणका लागि आवश्यक जग्गा खरिद अभियानलाई प्रभावकारी बनाउँदै सफल बनाउने विषयलाई पनि नयाँ कार्यसमितिले प्राथमिकतामा राखेको छ ।

जिल्ला भलिबल संघका अध्यक्ष बानियाँले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै कभर्डहल निर्माणका लागि जग्गा खरिद अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन आग्रह गर्नुभयो । जिल्लामा भलिबल खेलको व्यवस्थित विकासका लागि आफ्नै कभर्डहल आवश्यक रहेकाले अभियान सफल बनाउन सबै पक्षको सहयोग र सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो ।

पूर्वभलिबल खेलाडीसमेत रहेका अध्यक्ष मल्लले रघुगंगाबाट जिल्लास्तर हुँदै प्रदेश तथा राष्ट्रियस्तरसम्म प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ काम गर्ने बताउनुभयो । खेलकुदलाई स्वस्थ जीवनशैली, अनुशासन र सामाजिक एकताको माध्यमका रूपमा विकास गर्दै नियमित प्रशिक्षण तथा प्रतियोगितामार्फत खेलाडीको क्षमता अभिवृद्धि गरिने उहाँको भनाइ छ । स्रोतः तेजेन्द्र बानियाँ















