५८ वर्षपछि जन्मथलो फर्किए दग्नामका यामबहादुर तिलिजा

म्याग्दी । २३ वर्षको उमेरमा रोजगारीको खोजीमा भारतको मणिपुर पुगेका रघुगंगा गाउँपालिका–४ दग्नामका यामबहादुर तिलिजा ५८ वर्षपछि शनिबार आफ्नो जन्मथलो फर्किनुभएको छ । ८१ वर्षको उमेरमा पाँच दशकभन्दा लामो समयपछि घर फर्किनुभएका तिलिजालाई परिवारले फूलमाला लगाएर स्वागत गरेको वडा अध्यक्ष पविन गर्बुजाले जानकारी दिनुभयो ।

दग्नाम गाउँ पञ्चायतका तत्कालीन सचिव बाबा उज्जरसिङ तिलिजा र मनमती तिलिजाका जेठा छोरा यामबहादुर लामो समयदेखि परिवारको सम्पर्कमा हुनुहुन्थेन । वर्षौँसम्म खोजी गर्दा पनि उहाँको अवस्थाबारे जानकारी नपाएपछि परिवारले उहाँ जीवितै हुनुहुन्छ भन्ने आशासमेत गुमाइसकेको थियो ।

रोजगारीका क्रममा मणिपुर पुगेका तिलिजाको घर फर्कने संयोग सञ्चारकर्मी खेम देवानसँगको भेटपछि जुरेको हो । गत साउनमा भ्रमणका लागि मणिपुर पुगेका देवानले आइजिभी अनलाइन टेलिभिजनका सञ्चालक तथा नेपाली मूलका पत्रकार मनि तामाङमार्फत जंगलमा दुई जना वृद्ध दयनीय अवस्थामा बसिरहेको जानकारी पाएपछि उनीहरूसँग भेट गर्नुभएको थियो ।

देवानले तिलिजा र भोजपुरका वीरबहादुर राईको अवस्थाबारे भिडियो बनाएर आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गर्नुभएको थियो । उक्त भिडियो हेरेपछि दग्नाममा रहेका आफन्त तथा परिवारले उहाँलाई वर्षौँदेखि हराइरहेका आफ्नै परिवारका सदस्य भएको पहिचान गरेका थिए ।

देवानका अनुसार वीरबहादुर राईलाई परिवारको जिम्मा लगाएपछि बिरामी अवस्थामा रहेका तिलिजालाई उपचारका लागि धरान लगिएको थियो । निमोनियाबाट पीडित तिलिजाको विजयपुर अस्पतालमा चार दिन उपचार गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि परिवारको आग्रहमा उहाँलाई जन्मथलो दग्नाम ल्याइएको हो ।

पत्रकार देवानको सहयोगमा घर फर्किएपछि तिलिजाले भाइ, बुहारी तथा आफन्तजनसँग पाँच दशकभन्दा लामो समयपछि प्रत्यक्ष भेट्न पाउँदा भावुक हुनुभएको थियो । तिलिजाका भाइ उदयचन्द्रले दाजुसँग पुनर्मिलन हुँदा निकै खुसी लागेको बताउनुभयो ।

उहाँको खोजी गर्ने भरपर्दो माध्यम नहुँदा परिवारसँगको सम्पर्क पूर्णरूपमा टुटेको थियो । उहाँलाई भेटाइदिएर घरसम्म ल्याइदिने देवानलाई तिलिजा परिवारले धन्यवाद व्यक्त गरेका छन् ।

चार भाइमध्ये तिलिजाका माइला भाइको निधन भइसकेको छ । साइँला भाइ उदयचन्द्र पर्वतको जलजला–२ बगरफाँट बस्दै आउनुभएको छ भने काइँला जगतबहादुर र कान्छा हेमबहादुर दग्नाममै बस्दै आउनुभएको छ ।

तिलिजा भारतीय सेनामा भर्ती हुने उद्देश्यले आसाम राइफल्समा कार्यरत आफन्तको साथमा मणिपुर पुग्नुभएको थियो । सेनामा भर्ती हुन नसकेपछि उहाँले काठ काट्ने काम सुरु गर्नुभयो । लामो समयसम्म परिवारसँग सम्पर्क हुन नसकेपछि उहाँको घर फर्कने चाहना पनि पूरा हुन सकेन ।

मणिपुरमै विवाह गरेका तिलिजाकी छोरीको सात महिनाको उमेरमै मृत्यु भएको थियो । त्यसको एक वर्षपछि श्रीमतीको पनि निधन भयो । त्यसपछि उहाँ एक्लै जीवन बिताउँदै आउनुभएको थियो । उमेर बढ्दै गएपछि काठ काट्ने काम गर्न नसकेपछि मणिपुरको सेनापति जिल्लास्थित बिन्द्रामाई गाउँबाट करिब पाँच किलोमिटर टाढा घना जंगल क्षेत्रमा साहुको बाख्रा चराएर गुजारा गर्दै आउनुभएको थियो ।

यद्यपि पाँच दशकभन्दा लामो समयपछि भएको यो पुनर्मिलनले परिवारमा हराएको सदस्यलाई मात्र फर्काएको छैन, वर्षौँदेखि अधुरो रहेको प्रतीक्षाको पनि अन्त्य गरेको छ । मणिपुरको जंगलमा भएको संयोगपूर्ण भेट र सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एउटा भिडियोले दग्नामको एउटा परिवारलाई ५८ वर्षपछि फेरि पूर्ण बनाइदिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार