इन्स्टाग्राम,ह्वाट्सएपको माध्यमबाट १३ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । इन्स्टाग्राम, ह्वाट्सएपको माध्यमबाट ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले रुपन्देही मर्चवारी गाउँपालिका-४ का २९ वर्षीय धर्मेन्द्र उपाध्याय र ४५ वर्षीय अनन्तकुमार उपाध्यायलाई पक्राउ गरेको हो।

उनीहरूले इन्स्टाग्राम, ह्वाट्सएपको प्रयोग गरी १३ लाख ३९ हजार रुपैयाँ ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ। उनीहरूले इन्स्टाग्राममा जेरी जेम्स नामक आइडी बनाएका थिए। त्यहाँबाट उनीहरूले विभिन्न मानिसहरूसँग जोडिने गर्थे। त्यसपछि ह्वाट्सएपमार्फत् कुरा गरी आफूहरू केमिकल इन्जिनयर हुँ भनेर चिनाउँथे।

त्यसरी आफ्नो कम्पनी ७० वर्ष पुगेको अवसरमा एक जनालाई आइफोन ११ गिफ्ट पठादिने भन्दै प्रलोभन देखाउँथे। तर सामानको भन्सार बापत रकम पठाउनु पर्छ भन्दै विश्वासमा लिएको एसपी ईश्वर कार्कीले बताए।

उनीहरूले पीडितलाई कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाडौंको विभिन्न व्यक्तिहरूको खातामा पटक-पटक गरी रकम जम्मा गराउन लगाएका थिए।

त्यसरी १३ लाख ३९ हजार रकम जम्मा गर्न लगाइ ठगेका थिए। उनीहरूलाई प्रहरीले खोजतलास गरी रुपन्देहीबाट बुधबार पक्राउ गरेको थियो। उनीहरूमाथि थप अनुसन्धान गर्न शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ। सेतोपाटीबाट साभार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार