चितवन । दुर्लभ वन्यजन्तु एकसिंगे गैंडा मार्न सुरु गर्ने गिरोहका महत्वपूर्ण सदस्यहरु पक्राउ परेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।निकुञ्जको मुख्य कार्यालय कसरामा बुधबार भएको पत्रकार सम्मेलनमा निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले गैंडा मारेको आरोपमा विभिन्न मितिमा १४ जना पक्राउ परेको जानकारी दिए । सो घटनामा संलग्न भएको आशंका गरेका १६ जना फरार छन् ।
गएको भदौ १६ र १८ गते निकुञ्जको पश्चिम क्षेत्र आइल्याण्डमा गोली पड्कोको आवाज आएको थियो । निकुञ्जको टोली र नेपाली सेनाले खोजतलास गर्दा भदौ २१ मा एउटा गैंडा मृत भेटिएको थियो । सो गैंडालाई चोरी सिकारीले मारेको प्रष्ट भए पनि खाग भने सुरक्षित नै थियो । त्यसपछि कात्तिक १९ मा निकुञ्जकै पश्चिम क्षेत्र मर्दी घोलमा गोली लागेर मरेका र खाग नभएका गैंडाका माउ बच्चा भेटिएका थिए ।
यो आर्थिक वर्षमा चितवन निकुञ्ज र यस आसपासको क्षेत्रमा २३ वटा गैंडा मृत फेला परेका छन् । जसमध्ये चारवटालाई सिकारीले मारेको पुष्टि भएको छ । गैंडा जोगाउन नसकेको आरोप खेप्दै आएको निकुञ्ज प्रशासनले चोरी सिकारीमा संलग्न मानिसहरु पनि समाउन सकेको थिएन । कात्तिक २७ गतेदेखि स्वीप अप्रेसन सुरु भएको र देशका विभिन्न भागबाट मानिसहरु पक्राउ परेको प्रमुख संरक्षण अधिकृत बरालले बताए ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पुस १३ गते नवलपुर कावासोती–७ लौगाईका पल्ला भन्ने शिवनारायण महतो पक्राउ परे । त्यही दिन चितवन भरतपुर महानगरपालिका–२८ स्यालबासका रणबहादुर भन्ने जितबहादुर कुमाल र उनकी श्रीमति इन्द्रमाया गिरफ्तार भए । उनीहरु नवलपुरको चोरमारा बसन्तपुरबाट समातिएका थिए । त्यसैगरी बाँके सोनारी–२ का हरिप्रसाद थारु र उनकी श्रीमती विष्णु पनि सोही दिन पक्राउ परे । उनीहरु नवलपुर गैंडाकोटको इँट्टाभट्टाबाट पक्राउ परेको अधिकारीले बताए । अनुसन्धानको क्रममा गैंडाकोट घर भएका काले र अशोक भनिने शुकबहादुर गुरुङ पक्राउ परे । उनी माघ ३ गते गोर्खा आरुघाटबाट पक्राउ परेका हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले थप आरोपितहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये केही व्यक्तिहरुले पटक पटक गैंडा मार्ने गरेकोसमेत खुलेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले बताए । माघ ६ गते सीआईबी र निकुञ्जको टोलीले लमजुङ बेंसिसहरका सोमबहादुर गुरुङलाई काठमाडौंमा पक्राउ गरेको थियो । माघ ७ गते चितवन माडी–९ का दुर्गा भुजेल सार्की महोत्तरी बर्दिबासमा पक्राउ परेका थिए ।
मकवानपुर वाग्मती गाउँपालिका–३ स्थायी ठेगना भई काठमाडौं गोकर्णेश्वर बस्ने नविन पौडेल भनिने मेखबहादुर नेपाली, मुगु घर भई काठमाडौं रामहिटी बस्ने नांगे तमाङ लामा र रामहिटीकै योन्जन भन्ने छिरिङ लामा पनि पक्राउ परेका छन् । तनहुँ आँबुखैरहनी–५ का हरिबहादुर मगर पनि पक्राउ परेको निकुञ्जले जनाएको छ । फरार व्यक्तिहरुको खोजी कार्य जारी रहेका निकुञ्जले जनाएको छ ।
पछिल्ला केही वर्षयता निकुञ्जमा चोरी सिकारीले गैंडा मार्ने कार्य ठप्प जस्तै भएका थियो । चितवन स्यालबासका रणबहादुर कुमाल र शक्तिखोरका वीरमानसिंह चेपाङले वैशाख जेठमा गैंडा मार्ने भनेर सल्लाह गर्दै हिँडेको भन्ने खुल्न आएको निकुञ्जले जनाएको छ । निकुञ्जले भदौमा गोली पड्केको आवाज आएको क्षेत्र मर्दी घोलमा कात्तिक १९ मा दुईवटा भरुवा बन्दुक पनि भेटाएपछि अनुसन्धान बढाएको थियो । गैंडा मारेमा १० लाख रुपैयाँसम्म जरिवना र १५ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ । ekantipur बाट