काठमाडौं । बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबीले) दुई जनालाई पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले जानकारी दिनुभयो।
चेक बाउन्स गरेको मुद्दामा गत फागुन १७ उच्च अदालत पाटनले ७ दिन कैद र ३० लाख जरिवाना तोकेका काठमाडौं महानगरपालिका-१० बानेश्वरका ५० वर्षीय कैलाशप्रसाद श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो। श्रेष्ठलाई सिआइबीले सोमबार पक्राउ गरेको हो।
त्यस्तै, गत चैत ३ गते उच्च अदालत पाटनले नै १४ दिन कैद र २७ लाख ५० हजार जरिवाना ठहर भएका व्यक्तिलाई पनि पक्राउ गरेको छ। काठमाडौंको चन्द्रागिरि नगरपालिका-१० गुर्जुधारा बस्ने ३३ वर्षीय नारायण आचार्यलाई मंगलबार पक्राउ गरेको हो। उनीहरूको सजाय कार्यान्वयन गराउन अदालतमा पेश गरिएको सिआइबीले जनाएको छ। सेतोपाटीबाट