कास्की । पोखरामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएका पोखरा महानगरपालिकाकी एक महिला र स्याङ्जाको अर्जुन चौपारीका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
पोखरा महानगरपालिका–६ की ८२ वर्षीया महिला र स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–५ का ६२ वर्षीय पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार पोखरा–६ की ८२ वर्षीया महिलाको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनलाई बैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैगरी स्याङ्जाको अर्जुन चौपारी गाँउपालिका–५ का ६२ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो । उनलाई बैशाख ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२३ पुगेको छ । प्रदेशमा कोरोना संक्रमितको संख्या १८ हजार ३८८ पुगेको छ । तीमध्ये १६ हजार ८१० जना निको भएका छन् । रातोपाटीबाट