कञ्चनपुर । कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारको घटना भएको प्रहरीले जनाएको छ । जिल्लाको वेदकोट नगरपालिका–५ मा एक स्थानीय युवतीलाई दुईजना युवकले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको हो ।
बलात्कारको आरोप लागेका वेदकोट नगरपालिका–६ का अन्दाजी २३ वर्षीय धनबहादुर विकलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो । अर्का आरोपी सोही ठाउँका अन्दाजी २३ वर्षका युवक फरार रहेको र उनको खोजीकार्य भइरहेको प्रवक्ता थापाले जानकारी दिनुभयो ।
बिहीबार स्थानीय नर्सरी जंगलमा उनीहरुसँगै घुम्न गएका बेला किशोरीमाथि दुवैजनाले जबरजस्ती करणी गरेको आरोप पीडित युवतीले लगाएकी छन् । राति करिब ९ बजेतिर सामूहिक बलात्कार गरेको खबर आएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले आरोपीमध्येका विकलाई आज बिहान पक्राउ गरेको हो ।
युवतीको राति नै स्वास्थ्य परीक्षण गरिएको छ भने रिपोर्ट आउन बाँकी रहेको प्रहरी प्रवक्ता थापाले बताउनुभयो। जंगलमा दुवै जनाले मदिरा सेवन गराएर आफूमाथि बलात्कार गरेको युवतीले बयान दिएकी छिन । फरार युवकको खोजी कार्यसँगै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नागरिक खबरबाट