निर्माण क्षेत्र र अत्यावश्यक उद्योग सञ्चालन गर्न दिने सिसिएमसीको निर्णय

काठमाडौं । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले संक्रमण जोखिम रोक्ने र अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लकडाउन’तर्फ जाने निर्णय गरेको छ ।

यो साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्क गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराइ केही क्षेत्र खुला गरिनुपर्ने निष्कर्ष समितिले निकालेको छ ।

प्रधानमन्त्री एवम् समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अधिक संख्यामा नेपाली श्रमित रहेको टर्की, कतार, साउदी अरेबिया, युएइ, जापान र मलेसिया जस्ता देशहरुमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ ।

बैठकले बैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटल क्वारेन्टिनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टिनका लागि १० दिनको खर्च सरकारले व्यवस्थापन गर्ने छ ।

बैठकले सिसिएमसी केन्द्रको प्रशासनिक कार्यका लागि बजेट व्यवस्था गर्ने तथा निर्माण क्षेत्र र अत्यावस्श्यक उद्योगलाई स्वास्थ्य मापदण्ड पालनाका साथ खोल्न दिइनेसमेत निर्णय गरेको छ ।

बैठकमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले स्वास्थ्य मापदण्डमा कडाइ गर्दै लकडाउनलाई संक्रमणको जोखिम नहुने हदसम्म मात्र खुकुलो गर्न सकिने बताउनुभएको थियो ।

कोरोना नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण र अनिवार्य पक्ष खोप नै भएको उल्लेख गर्दै उहाँले त्यसका लागि ४० लाख डोज खोप ल्याउने गृहकार्य भइरहेको र ती खोप आगामी साउनदेखि लगाउन थालिने बताउनुभयो । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार