काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर १४ स्थित बल्खुमा टिपरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।
शनिबार राति नम्बर नखुलेको टिपरले बा ७५ प ८८५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अपिलराज बोहोराले जानकारी दिनुभयो।
टिपरको ठक्करबाट ज्यान गुमाउने मोटरसाइकल चालक काठमाडौंको स्युचाटार बस्ने खोटाङका ३८ वर्षीय कमल भुजेल हुन्। ठक्करबाट गम्भीर घाइते भएका उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी बोहोराले बताउनुभयो।
ठक्करबाट मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन्। नुवाकोट बेलकोटगढी नगरपालिका-५ का ३० वर्षीय दीपक लामिछाने घाइते छन्। उनको मुख र हातमा चोट लागेको छ।उनको सोही अस्पतालमा उपचार भइरहेको छ। ठक्कर दिएर टिपर फरार भएको छ। प्रहरीले टिपरको खोजी गरिरहेको जनाएको छ। सेतोपाटीबाट