एमालेको एकता जोगाउन भीम आचार्यका ६ बुँदे सुझाव

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल समूहका स्थायी कमिटी सदस्य भीम आचार्यले एमालेलाई एकताबद्ध बनाउन ६ बुँदे सुझाव दिनुभएके छ । उहाँले मंगलबार सामाजिक सञ्जालमार्फत् २०६३/६३को जनक्रान्तिले ल्याएको उपलब्धीहरु संकटमा परेको बताउनुभएको छ ।

“यतिबेला नेकपा विभाजन र एमाले भित्रको किचलोले सिंगो राष्ट्रिय राजनीति बिथोलिएको छ । २०६२/६३ को जनक्रान्तिले ल्याएका उपलब्धीहरु संकटमा परेका छन् । अहिले नेकपा एमाले भित्र घात-प्रतिघात, गुट-उपगुट, विस्वास-अविस्वास, कारबाही-प्रतिकारबाही, समर्थन-विरोध जस्ता कृयाकलापहरू भइरहेका छन् । गत फागुन २८ गते एमालेको नाममा एउटा गुटले गरेका विभाजनकारी निर्णय र गतिविधिहरु यसको मुख्य श्रोत हो,” उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ। उहाँले गत फागुन २३ गतेपछि नेकपा एमालेका नाममा गरेका गुटका सबै निर्णयहरु खारेज गरिनुपर्नेलगायत सुझाव दिनुभएको छ ।

यस्तो छ आचार्यको सुझाब
१. पार्टी को नवौं राष्ट्रिय महाधिवेशनले निर्वाचित गरेको केन्द्रीय कमिटी र आफ्नो अधिवेशन र सम्मेलन तथा वैधानिक प्रक्रियाबाट आएका मातहत कमिटी, जनसंगठन तथा पेशागत संगठनहरु तुरुन्तै विनासर्त सुचारु गरिनुपर्छ । सार्वभौम सदस्यहरुबाट निर्वाचित कमिटी सुचारु गर्न यो वा त्यो सर्त राख्नु गलत र अनधिकृत हो ।
२. गत फागुन २३ पछि नेकपा एमालेका नाममा गरेका भनिएका सबै गुटका सबै निर्णयहरु खारेज गरिनुपर्छ र गरिएका सबै कामहरु खयष्म घोषणा गर्नु पर्दछ ।
३. पार्टीभित्रका गुटहरुको टकरावका कारण यसबीच भएका द्वन्द्व र कामहरुको उपर्युक्त समयमा समीक्षा गर्दै भएका कमिकमजोरीहरु सच्याएर अगाडि बढ्ने प्रतिबद्धता आवश्यक छ ।
४. आगामी दिनहरुमा पार्टी र सरकार सञ्चालन एक भएर गर्ने र आएका चुनौतीहरुको एकताबद्ध भएर सामना गर्नु पर्दछ ।
५. पार्टीलाई विधि–विधान र स्थापित मान्यताहरुको आधारमा सञ्चालन गर्नु पर्दछ ।
६. नेतृत्वले रिस, राग, बदलाभाव, अहंकार, हिनतावोध त्यागेर धैर्य र संयमताका साथ पार्टीलाई एकताबद्ध बनाउने र सबै बामपन्थी र लोकतान्त्रिक शक्ति र पार्टीहरुसँग सुमधुर सम्बन्ध राख्दै सिंगो राष्ट्रलाई एकताबद्ध बनाएर क्रान्तिका उपलब्धीहरु रक्षा गर्दै विकास र समृद्धिको बाटोमा अघि बढनु पर्दछ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार