काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य महादेव यादवको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ५७ वर्षीय यादवको सोमबार बेलुका धनुषा जनकपुरस्थित आफ्नै निवासमा निधन भएको हो ।
उहाँको निधनप्रति माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक शोक वक्तव्य जारी गर्दै दुःख व्यक्त गर्नुभएको छ । प्रचण्डले उहाँको निधनले नेपाली कम्युनिष्ट आन्दोलनले एक संघर्षशील नेता गुमाउनुका साथै पार्टीले समर्पित सहकर्मी गुमाएको उल्लेख गर्नुभएको छ । यादवको निधनले देश, पार्टी र समुदायमा अपूरणीय क्षति भएको पनि प्रचण्डको भनाइ छ ।
प्रचण्डले उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । यादवले २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट आफ्नो राजनीतिक जीवन सुरु गर्नुभएको थियो । उहाँ महान् सहिद रामबृक्ष यादवलाई आदर्श मान्दै मुक्तिकामी आन्दोलनहरुमा सक्रिय सहभागी बन्नुभएको थियो । रातोपाटीबाट