
झापा । झापाको चारआली चन्द्रगढी भित्री सडकमा कार अनियन्त्रित भई दुर्घटना हुँदा शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ।
भद्रपुर न.पा. ९ चारआली चन्द्रगढी सडकखण्डको देवकोटा चौकस्थितमा चारआलीबाट चन्द्रगढीतर्फ जाँदै गरेको बा १६ च ८१८२ नं. को कार आफैं अनियन्त्रित भई देवकोटाको शालिक कम्पाउण्डको वालमा ठोक्किँदा कार चालक विर्तामोड न.पा. १ बस्ने ४६ वर्षीय ज्ञानुराम प्रसाइँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
दुर्घटनाबाट बायाँ खुट्टा र भित्री चोट लागेर गम्भीर घाइते भएका उनको मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताउनुभयो।
कारको अगाडिको भाग पूर्ण रूपमा क्षति भएको छ । घटनास्थल जिल्ला प्रहरी कार्यालय झापाबाट ३ किलोमिटर उत्तरपश्चिम रहेको प्रहरीले जनाएको छ।मृतक ज्ञानुराम नेकपा एमाले झापाका नेता तथा विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाईंका श्रीमान हुन्। उनी नेकपा एमालेका विर्तामोड नगर कमिटीका पूर्वअध्यक्ष समेत हुन्। सेतोपाटीबाट