
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिगमनकारीलाई दण्डित गर्नुपर्ने बताउनुभएको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गरेसँगै सामाजिक सञ्जालमार्फत डा. भट्टराईले प्रतिनिधिसभाबाट स्थीर सरकार दिन लाग्नुपर्ने धारणा राख्नुभएको छ ।
भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक, प्रतिगमनकारी हर्कतलाई सर्वोच्च अदालतले पुनः एक पटक रोकेको भन्दै धन्यवाद दिनुभएको छ। ‘खड्गप्रसाद एण्ड कम्पनीको असंवैधानिकरप्रतिगमनकारी हर्कतलाई सर्वोच्च अदालतले पुनः एक पटक रोकेकोमा अदालतलाई र यस अभियानमा संलग्न सबैलाई हार्दिक बधाई र धन्यवाद!’ उहाँले लेख्नुभएको छ , ‘अब कुनै किन्तुपरन्तु गर्ने ठाउँ छैन। संविधानलाई ट्र्याकमा ल्याएर प्रतिनिधिसभाबाट स्थीर सरकार दिऊँ। प्रतिगमनकारीलाई दण्डित गरौं !’
प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्चले बदर गर्दै प्रतिनिधिसभा पुनर्स्थापना गरेको हो। बहुमत सांसदको समर्थन भएकोले विपक्षी नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्चले परमादेश जारी गरेको छ। सात दिनभित्र संसद् अधिवेशन बोलाउन सर्वोच्च अदालतको आदेश दिएको छ।