इलाममा मोटरसाइकल दुर्घटना हुँदा एक जनप्रतिनिधिको मृत्यु

इलाम । इलाममा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एक जना जनप्रतिनिधिको मृत्यु भएको छ । इलामको माङ्सेबुङ गाउँपालिका मार्चेबुङस्थित दमक–रवि कच्ची सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी माङसेबुङ –४ का वडा सदस्य ३६ वर्षीय धनबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दमकबाट इलामतर्फ जाँदै गरेको मे ८ प ६०४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा उनको उपचारका क्रममा झापाको बि एन्ड सी अस्पताल बिर्तामोडमा राति ९ः४८ बजेतिर मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीन राज राई बताउनुभयो ।

प्रहरी प्रवक्ता राईका अनुसार आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई सडकबाट लगभग एक सय मिटर तल खसेको थियो । मोटर साइकल दुर्घटनामा परेर वडा सदस्य राई गम्भीर घाइते भएका थिए ।

टाउकोमा चोट लागेर अवस्था गम्भीर बनेका उनलाई तत्काल उपचारका लागि बि एन्ड सी अस्पताल बिर्तामोड लगिएको थियो । प्रहरीले दुर्घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ। रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार