मृत्यु दर्ता भएको ६ वर्षपछि पाए सुभाषले नागरिकता

विराटनगर । विदेशमा मृत्यु भएको भनेर मृत्यु दर्ता गरिएका मोरङ बेलबारी–११ लक्ष्मीमार्गका सुभाष तामाङले बिहीबार मोरङ प्रशासनबाट नागरिकताको प्रतिलिपि पाएका छन् । उनी जीवितै छु भन्दै मृत्यु दर्ताको प्रमाणपत्र खारेज गर्न तीन वर्षसम्म अड्डा–अदालत धाइरहेका थिए ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६ को दफा २४ अनुसार साउन २६ मा तामाङको मृत्यु दर्ता बदर गरेर बिहीबार नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि दिएका हुन् ।

‘कागजपत्रसहित आफैं उपस्थित भएपछि उनी जीवितै भएको अरू तथ्य प्रमाण आवश्यक नभएकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐनअनुसार उनको मृत्यु दर्ता बदर गरेर नागरिकताको प्रतिलिपि दिइएको हो,’ निरौलाले भन्नुभयो ।

उक्त ऐनको दफा २४ मा कुनै व्यक्तिको झूटो विवरण दाखिला गरी दर्ताको प्रमाणपत्र लिएको प्रमाणित भए स्थानीय अधिकारी अर्थात् प्रमुख जिल्ला अधिकारीले त्यस्तो दर्ताको प्रमाणपत्र रद्द गर्न सक्ने प्रावधान छ ।

यसअघि उनले भोजपुरको साबिक कुदाकाउले गाविस–९ बाट २०६० जेठ २९ मा नागरिकता लिएका थिए । काम गर्न साउदी अरबमा रहँदा उतै मृत्यु भएको खबर आएपछि २०७२ साउन ६ मा कुदाकाउले २ मा मृत्यु दर्ता भएको थियो । हाल उनी बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा बसोबास गर्दै आएका छन् । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार