रसुवा । घरमाथिबाट आएको पहिरोले दक्षिणी रसुवाको कोलडाँडा भन्ने स्थानमा एक घर पुरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख देवेन्द्र पाण्डेका अनुसार भारी वर्षासँगै आएको पहिरोले नौकुण्ड गाउँपालिका–५ कोलडाँडा भन्ने स्थानमा गएराति श्यामबहादुर गलानको घर पुरिँदा चार जना बेपत्ता भएका छन् ।
गलान भने घाइते अवस्थामा भेटिएकाले उपचारका लागि नुवाकोटको त्रिशूली अस्पताल पठाइएको छ । सदरमुकाम धुञ्चेबाट दक्षिणमा करिब ५० किलोमिटर दूरीमा रहेको ठूलोभोर्ले र धुसेनी गाउँको बीच भागमा यो घटना भएको हो ।
बेपत्ता भएकाहरुको खोज तथा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल घटनास्थलमा पठाइसकिएको छ । घटनाको पूर्ण विवरण आउन बाँकी रहेको रसुवाका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताउनुभयो । रासस