बाढीका कारण काठमाडौंका ३८२ घर डुबानमा

काठामाडौँ । अविरल वर्षापछि आएको बाढीले काठमाडौंमा तीन सय ८२ घर डुबानमा परेको छ। गए रातिदेखि परेको पानीले कुलेश्वर, कालिमाटी तरकारी बजार क्षेत्र, बल्खु, नेपालटार, शंखमुललगायत क्षेत्र डुबानमा परेको छ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बागमती नदी, विष्णुमती नदीलगायत नदीका किनारा क्षेत्रका बस्ती डुबानमा परेको र मानिसहरू उद्धार गरिएको बताउनुभयो।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार राति साढे २ बजेदेखि पानी पर्न थालेको हो। उहाँका अनुसार राति साढे २ बजेदेखि बिहान छ बजेसम्म त्रिभुवन विमानस्थलमा १०५ मिलिमिटर वर्षा मापन भएको छ।

भारी वर्षा भएसँगै बागमती नदीमा जल सतह बढेको छ। नदीछेउका बस्तीहरूमा डुबान भएको छ। मौसमविद् अर्यालका अनुसार अहिले बागमती प्रदेशभरि वर्षा भइरहेको छ। केही घन्टाअघि लुम्बिनी र गण्डकी प्रदेशका पनि अधिकांश ठाउँमा पानी परेको थियो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार