नेकपा एमाले बेनी नगर कमिटीको प्रथम अधिवेशन ,नेतृत्वमा तीन जनाको दावी

म्याग्दी । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मङ्गलबारदेखि देशैभर रहेका ७ सय ५३ वटै स्थानीय तहहरुमा पालिका अधिवेशन सुरु भएको छ । यसैक्रममा हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिकामा पनि ‘जनताको बहुदलीय जनवाद जिन्दावादः सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने मूल नारासहित प्रथम नगर अधिवेशन सुरु गरिएको छ ।

अधिवेशनलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला इन्चार्ज भूपेन्द्रबहादुर थापाले देशको विकास गर्ने तथा नेपाली जनताको मुहारमा खुसी ल्याउने पार्टी नेकपा एमाले मात्रै भएको दावी गर्नुभएको छ । उहाँले अहिले एमालेलाई देशी विदेशी शक्तिद्वारा चौतर्फी रुपमा घेराबन्दी गर्ने काम भैरहेको बताउँदै परमादेशबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकार बनेसँगै देशमा विदेशी चलखेल र हस्तक्षेप बढेको बताउनुभयो ।

प्रतिनिधि सभा सदस्य एवं सांसद समेत रहनुभएका एमाले केन्द्रीय सदस्य थापाले यसअघि एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देश र जनताका लागि थुप्रै जनमुखी तथा लोकप्रिय कामहरु गरेको बताउनुभयो । उहाँले एमाले नेतृत्वको सरकारले चीनसँग पारवहन सन्धी सम्झौता गरेर नेपाललाई समुन्द्रको पहुँचमा पु¥याएको, भारतले अतिक्रमण गरेको नेपाली भू–भाग कालापानी–लिपुलेक र लिम्पियाधुरा समेटेर नेपालको नयाँ चुच्चे नक्सा जारी गरेको, व्यापार घाटा कम गराई निर्यातलाई बढाएको, काठमाडौंमा धरहरा र रानीपोखरी निर्माण गरेको, मेलम्चीको पानी काठमाडौंमा ल्याएको, देशलाई सुरुङमार्गमा लगेको जस्ता कामहरु गरेको बताउनुभयो ।

सोही अधिवेशनमा बोल्दै नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले आजसम्म जिल्लाका ४३ वटा वडामा सर्वसम्मत रुपमा एमालेको नेतृत्व चयन गरिएकाले पालिका अधिवेशन पनि सर्वसम्मत गरी पार्टीलाई सशक्त बनाइने बताउनुभयो । उहाँले संसारमा कहीँ पनि अदालतले सरकार बनाएको इतिहास नभएको भन्दै नेपालमा परमादेशबाट सरकार बन्नु शक्ति सन्तुलन र शक्ति पृथकीकरणको सिद्धान्त विपरीत भई गलत नजिर स्थापित भएको बताउनुभयो । अहिलेको आवश्यकता अर्ली इलेक्सन भएकाले आगामी चुनावबाट पुनः एमालेको नेतृत्वमा सरकार बन्ने अध्यक्ष श्रेष्ठले दावी गर्नुभयो ।

प्रथम नगर अधिवेशनको उद्घाटनसत्रमा एमाले जिल्ला उपसचिव देवबहादुर घले, बेनी नगर कमिटीका पूर्व अध्यक्ष नारायण जिसी, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष सन्तोष रावल र एमाले जिल्ला सदस्य पशुपति शाहीले मन्तव्य राख्नुभएको थियो । अधिवेशनको उद्घाटनसत्र एमाले नगर कमिटी संयोजक प्रमोद श्रेष्ठको अध्यक्षता, सहसंयोजक राजकुमार थापाको सञ्चालन र सचिवालय सदस्य बेलबहादुर चोखालको स्वागतमा सम्पन्न भएको थियो ।

यसैगरी नेकपा एमाले म्याग्दी बेनी नगर अधिवेशनमा नेतृत्वको लागी तीन जनाले दावि पेश गर्नुभएको छ ।मंगलवार आयोजित नगर अधिवेशनमा सहमती जुट्न नसकेपछि बुधबार बिहान १० बजे देखि सुरु हुने गरि स्थगित भएको छ ।अधिवेशनको बन्द सत्रमा नेतृत्व चयनमा आंकाक्षीहरु धेरै देखिएको र तिनिहरुविच सहमतिको प्रयास भइरहेकाले अधिवेशन स्थगित गरिएको एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ ।

बेनीनगर कमिटिको अध्यक्षका लागि नारायण जिसी, चन्द्र कुमार केसी र राजकुमार थापाले दावी गर्नुभएको छ ।त्यस्तै उपाध्यक्षका लागि राजेन्द्र कुमार श्रेष्ठ र लिलाराम गौतम, सचिवका लागि कृष्णसिं बानीयाँ र सुवास विश्वकर्माले दावी गर्नुभएको छ ।२ जना चयन हुने उपसचिव पदका लागि लक्षमण कटुवाल, बिमल रिजाल, शिशिर शाही, नबिन केसी, नारायण शर्मा, रुद्र रेग्मी लगाएत ९ जना आंकाक्षी देखिएको अध्यक्ष मण्डलका संयोजक देब बहादुर घलेले जानकारी दिनुभयो ।

आकांक्षीहरु विच सहमतिका लागि छलफल भइरहेकाले मनोनयन दर्ता भने नगरिएको उहाँले बताउनुभयो । नगरकमिटिको कतिपय पदहरुमा भने सहमति भइसकेको छ ।अन्तिम सम्म सहमतिको प्रयास गरिने र सहमति हुन नसके लोकतान्त्रिक पद्धति अनुसार नेतृत्व चयन गरिने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार