वीरगञ्ज । पर्सामा धान झार्ने थ्रेसरले च्यापेर ८ वर्षीय बालकको मृत्यु भएको छ । जगरनाथपुर गाउँपालिका–६ माधवपुर बस्ने भुटेश्वर साहको छोरा ओमबाबु साहको मृत्यु भएको हो ।
शनिबार राति साढे ८ बजे ना६त ५०४५ नं.को ट्याक्टरमा थ्रेसर जडान गरी धान झार्न लैजाँदै गर्दा अचानक थ्रेसर पल्टिएर ओमबाबुलाई किचेको थियो । थ्रेसरले च्यापेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि तराई अस्पताल ल्याइएको थियो । उपचारको क्रममा राति साढे ९ बजे बालकलाई अस्पतालले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।
उनको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले थ्रेसर र ट्याकटर नियन्त्रणमा लिएको छ । ट्याक्टर चालक भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । सेतोपाटीबाट