पुत्रवियोगमा परेका मेयरलाई सान्त्वना दिन उदयपुरमा नेता नेपाल

उदयपुर । सत्तारुद्ध दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल उदयपुर जानुभएको छ । शनिबार पुत्रवियोगमा परेका त्रियुगा नगरप्रमुख बलदेव चौधरीको परिवारलाई सान्त्वना दिन पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालपार्टी प्रवक्ता जगन्नाथ खतिवडासहित आइतबार गाईघाट जानुभएको हो ।

हेलिकोप्टरमार्फत बिहान साढे ११ बजे स्थानीय हवाई मैदानमा उत्रिएर अध्यक्ष नेपाल सोझै मेयर चौधरीको त्रियुगा नगरपालिका–११ पुरानो गाईघाटस्थित घर पुग्नुभएको हो। उहाँले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभयो । लगत्तै सुरु भएको शवयात्रामा सहभागी हुँदै भएका उहाँ स्थानीय त्रियुगाघाटसम्म पुग्नुभयो । नेपालले स्वर्गीय चौधरीको शवमा माल्यार्पण गर्नुका साथै पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्नुभयो।

श्रद्धाञ्जलीसभामा छोटो समवेदना मन्तव्य राखेका उहाँले राजनीतिक विषयमा केही बोल्नुभएन्। नेकपा (एस) प्रदेश १ का अध्यक्षसमेत रहेका मेयर चौधरीलाई समवेदना दिन मात्र नेपाल गाईघाट आएको पार्टीले जनाएको छ। नितान्त समवेदना दिन मात्र आएको हुनाले उहाँले पार्टी कार्यकर्ता कसैसँग भेटघाट नगरी दिउँसो २ बजे सोही हेलिकोप्टरमार्फत राजधानी फर्केको प्रमुख जिल्ला अधिकारी वीरेन्द्रप्रसाद यादवले बताउनुभयो।

मेयरका २५ वर्षीय छोरा मनोजको शनिबार वनभोज खाने क्रममा दहमा डुबेर निधन भएको थियो। दर्जनभन्दा बढी साथीसँग चौदण्डीगढी नगरपालिका–९ देवधारस्थित खोलाकिनारमा वनभोज खाँदै खेल्ने क्रममा दहमा डुबेर उनको निधन भएको प्रहरीले जनाएको छ। सँगै गएका साथी कोही पकाउने, कोही खेल्ने र खाने गरिरहँदा मनोज भने पौडी खेल्दै गर्दा डुबेर प्राण उडिसकेपछि मात्र साथीहरूले चाल पाएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार