
काठमाडौँ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपालको प्रगति, समृद्धि र विकासमा भारतको सहकार्य रहिरहने बताउनुभएको छ । राजदूत क्वात्राले भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा नेपालको प्रगति, समृद्धि र विकासका साथै द्धिपक्षीय सम्बन्धको विकासमा भारतले बलियो आधार प्रदान गरेको बताउनुभएको हो ।
‘सन् २०२१ मा भएका केही उच्चस्तरीय राजनीतिक भेटघाटले भारत–नेपाल साझेदारीलाई महत्वपूर्ण गति प्रदान गरेको छ’, उहाँले भन्नुभएको छ । उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाबीच ग्लास्गोमा सम्पन्न कोप–२६ सम्मेलनका क्रममा भएको साइड लाइन वार्ता, भारतीय विदेशमन्त्री डा एस जयशङ्कर र नेपालका परराष्ट्रमन्त्री डा.नारायण खड्काबीच न्यूयोर्कमा सम्पन्न संयुक्त राष्ट्रसङ्घको महासभामा भएको साइड लाइन बैठकले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको प्रसङ्ग पनि सो सन्देशमा उल्लेख गर्नुभएको छ ।
राजदूत क्वात्राले जयनगर–कुर्था–विजुलापुर र जोगबनी–विराटनगरलाई जोड्ने अन्तरदेशीय रेलमार्ग, भूकम्पले भत्काएका नुवाकोट र गोरखामा भारत सरकारको पुनः निर्माणमा सहयोग एवं नेपालको अनुरोधमा युरिया र डिएपी मल आपूर्तिलाई प्राथमिकता दिएको प्रसङ्ग पनि राजदूत क्वात्राले सो सन्देशमा उल्लेख गर्नुभएको छ । कोभिड–१९ को सङ्क्रमणका क्रममा खोप, आइसीयू शय्या, मेडिकल अक्सिजन प्लान्ट लगायतको सहयोग भारतले उपलब्ध गराएको बताउँदै राजदूत क्वात्राले कोभिडसम्बन्धी कडा प्रतिबन्धका बाबजुद पनि दुवै देशको व्यापार निर्वाध ढङ्गले अगाडि बढेको उहाँको भनाइ छ । रासस