
काठमाडौं । वैदेशिक रोजगारीको नाममा भइरहेका ठगीविरुद्ध श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ कडाईका साथ उत्रिनुभएको छ । ठगीमा परेकाहरुको उजुरी र जानकारी पाउनासाथ एक्सनमा उत्रिने गर्नुभएको श्रममन्त्री श्रेष्ठको कडाईका कारण पीडितहरुले राहतको अनुभूति समेत गर्न थालेका छन् ।
मन्त्री श्रेष्ठ कडाई एक्सनमा उत्रिएपछि दलालहरुको भागदौड मच्चिएको छ । पछिल्लो समयमा भिजिट भिसामा दुवई पुर्याएका नेपाली कामदारहरुको उजुरीमा मन्त्री एक्सनमा उत्रिनुभएको छ । उहाँको एक्सनपछि दलालहरुको भागदौड मच्चिएको छ । दुवई र नेपालमा रहेका दलालहरु दुवईमा अलपत्र परेका नेपाली कामदारहरुलाई नेपाल फर्काउन सहमत भएका छन् । अलपात्र पारेका नेपालीहरुमध्ये २८ जना नेपाल आइसकेका छन् ।
विहीबार पीडितको गुनासो सुन्दैगर्दा मन्त्री श्रेष्ठलाई ‘मुख्य दलाल’ भनिएका कमल उपाध्यायले ह्वाटसपमा फोन गर्नुभएको थियो । त्यसबेला पनि मन्त्री श्रेष्ठले भिजिट भिसामा दुवई पुर्याइएका कामदारहरुलाई तत्काल रोजगारीमा लगाउन वा नेपाल फर्काउन भन्नुभएको थियो । ठगीको आरोप लागेका उपाध्यायलाई मन्त्री श्रेष्ठले ‘भाइ’ भन्दै सम्बोधन गर्नुभयो । उहाँले भन्नुभयो, ‘भाइ, अरु कुरा जान्दिन, कि रोजगारी लगाउनुस, कि त तत्काल नेपाल फर्काउनुस्, होइन भने दुवई आएरै पक्रेर नेपाल ल्याउन नपरोस् ।’
भिजिट भिसामा दुबई पुराउने गरेका बिषयमा मन्त्रालय गम्भीर रहेको भन्दै उहाँले यसलाई नियन्त्रण र अनुसन्धान गर्न सरकार गम्भीर भएर लागेको बताउनुभयो । ‘भिजिट भिसा’मार्फत दुबईलगायत श्रम गन्तव्य मुलुकमा पुगेर पीडित भएकालाई सम्बोधन गर्न ‘मार्सल टिम’ गठन भएको उहाँले जानकारी दिनुभयो । उहाँले मन्त्रालयले आगामी आइतबारदेखि २४ सैं घण्टा फोन उठ्ने गरी गुनासो सुनुवाइ कक्ष स्थापना गर्न लागेको बताउनुभयो ।
दुख पाएका नेपालीहरुको गुनासोका आधारमा दलालहरुलाई कारवाही गर्ने उहाँले स्पष्ट पार्नुभयो । त्यस्तै पीडित युवाहरुले आफुहरुले चर्को मूल्य तिरेर केहि व्यक्तिमार्फत दुवई गएको र अलपत्र परेको गुनासो गर्नुभयो । उनीहरुले आकर्षक तलवको बहानामा आफुहरुलाई झुक्काएको बताएका थिए । पछिल्लो एक वर्षमा मात्रै झन्डै ८० हजार नेपाली रोजगारी खोज्न भिजिट भिसामार्फत यूएई पुगेको अनुमान मन्त्रालयको छ । नागरिक खबरबाट