भर्खरै देउवा र प्रचण्डसँग बालुवाटारमा छलफल गरियो, गठबन्धन टुट्दैन : नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन तोड्न खोज्नेहरूको चाहना पूरा नहुने बताउनुभएको छ। आज बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूले छलफल गरेको र गठबन्धन दिगो रूपमा जाने उहाँले बताउनुभयो।

‘हामीले पाँच दलीय गठबन्धन निर्माण गरेका छौं। दिनदिनै पत्रपत्रिकामा अनेक समाचार सुनेर कतिपयको दिमाग खराब हुने गरेको छ। दिमाग खराब गर्ने काम नगर्नुस्,’ बालुवाटारमा छलफल गरेर अनेरास्ववियुले आयोजना गरेको रक्तदान कार्यक्रममा पुगेका अध्यक्ष नेपालले भन्नुभयो, ‘यो गठबन्धन टुट्नेवाला छैन। कसैले टुटाउन खोजे पनि यो टुट्नेवाला छैन। अहिले भर्खरै मात्र पनि हामीले प्रधानमन्त्री शेरबहादुर देउवाजी र माओवादी अध्यक्ष प्रचण्डजी र म आफैँ बसेर छलफल गर्‍यौं। पत्रपत्रिकामा आएका समाचारबारे पनि सत्यतथ्य के हो भनेर छलफल चलायौं तर मनगणन्ते कुरा धेरै आएका रहेछन्।’

उहाँले गठबन्धन भत्कनेजस्ता समाचारमा सत्यता नभएको दाबी गरेका थिए। ‘यो गठबन्धनलाई बलियो बनाएर लैजानुपर्दछ भन्ने कुरा हामी सबैले प्रतिवद्धता व्यक्त गरेका छौं,’ उहाँले भन्नुभयो, ‘जनताको हितलाई केन्द्रमा राख्ने नीति हामीले लिएका छौं।’उहाँले संविधान जोगाएको र लोकतन्त्र आफूहरूले बचाएको बताएका थिए। उहाँले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण प्रतिनिधि सभा चल्न नसकेको बताउनुभयो। उहाँले पार्टी संगठन देशव्यापी रूपमा फैलाउने अभियान चलिरहेको पनि बताउनुभएको थियो। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार