एमसीसी आर्थिक परियोजना मात्रै : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौता आर्थिक परियोजनाका लागि मात्रै भएको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा आइतबार एमसीसी सम्झौताका विषयमा उठेका प्रश्नको जवाफ दिँदै उनले सरकारबाट १२ बुँदे व्याख्यात्मक घोषणा आइसकेपछि कुनै भ्रम पाल्नुपर्ने अवस्था नरहेको जनाउनुभएको छ ।

अर्थमन्त्री शर्माले व्याख्यात्मक घोषणाले नेपालको संविधानको महत्त्व र सर्वोच्चतालाई सरकारले कसरी आत्मसात् गरेको छ भन्ने प्रस्ट पारेको बताउनुभयो ।‘घोषणाले कुनै पनि सैन्य गठबन्धनमा रहने कुरा स्वीकार्य हुँदैन भन्ने स्पष्ट गरेको छ, बौद्धिक सम्पत्ति र अन्य सम्पत्ति नेपाल सरकारकै हुन्छन् भनेर पनि ठोकुवा गरेको छ,’ उहाँले भन्नुभयो ।

मन्त्री शर्माले अन्तर्राष्ट्रिय कानुनका आधारमा पनि व्याख्यात्मक घोषणा अगाडि बढ्ने बताउनुभयो । ‘सरकारले राष्ट्रियता र जनभावनालाई सम्बोधन गरेको छ,’ उहाँले भन्नुभयो, ‘हामी सबैसित सहयोग लिन्छौं । राष्ट्रियता अखण्डता र नेपाली जनताको अधिकारलाई तल पर्न दिँदैनौं ।’

सम्झौता कार्यान्वयनतर्फ : अमेरिका
त्यस्तै अमेरिकाले एमसीसी सम्झौता नेपालको संसद्‌बाट आइतबार अनुमोदन भएसँगै अब कार्यान्वयनको दिशामा अघि बढेको बताएको छ । प्रतिनिधिसभाबाट १२ बुँदे व्याख्यात्मक घोषणासँगै सम्झौता अनुमोदन भएको केही घण्टामै काठमाडौंस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गर्दै अब पाँचवर्षीय कार्यक्रम (एमसीसी सम्झौता) कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको जनाएको हो ।

‘एमसीसी सम्झौता अनुमोदन गर्ने या नगर्ने भन्ने निर्णय सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा सधैं नेपाल सरकारको हातमा थियो,’ विज्ञप्तिमा छ, ‘हस्ताक्षरित प्रतिबद्धतालाई पूरा गर्दै कम्प्याक्टलाई अनुमोदन गर्ने संसद्को आजको निर्णयबाट नेपाली जनताका लागि थप रोजगारी सिर्जना हुनेछ, विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुनेछ र ढुवानीको खर्च घट्नेछ ।’ विज्ञप्तिमा झन्डै २० वर्षअघि एमसीसीको स्थापना भएयता एमसीसी कम्प्याक्टहरूले विश्वभर नै गरिबी निवारणमा मद्दत गरेको उल्लेख छ ।

‘आर्थिक स्वतन्त्रता, आफ्ना नागरिकमाथिको लगानी र लोकतान्त्रिक सिद्धान्तको प्रवर्द्धन तथा भ्रष्टाचारविरुद्धको लडाइँसहितको सुशासनप्रति कटिबद्ध विकासोन्मुख राष्ट्रहरूसँग साझेदारी गर्दै एमसीसीले सम्झौता गर्छ,’ विज्ञप्तिमा भनिएको छ । अमेरिकाले यो वर्ष नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५औं वर्ष रहेको उल्लेख गर्दै यी ७५ वर्षमा नेपालमा विशाल र अपत्यारिला परिवर्तन भएको जनाएको छ । ekantipurबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार