
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले चैतभित्र स्थानीय निर्वाचनमा उठ्ने उम्मेदवारहरूको टुंगो लगाइने बताउनुभएको छ ।उम्मेदवारहरूको टुंगो लगाउन केन्द्रदेखि पालिका तहसम्मै संसदीय समितिको व्यवस्था विधानमै रहेको र समितिले उम्मेवदार टुंगो लगाउन ढिला नगर्ने बताउनुभयो ।
‘अन्तिम दिनसम्म को उठ्ने हो भन्ने टुंगो नलाग्ने स्थिति यसपटक रहँदैन । निर्णय गर्ने प्रक्रिया पनि विभिन्न तहमा विकेन्द्रित छ । चैत्रभित्रै टुंगो लगाउने कोसिस गर्छौँ,’ प्रेस युनियन सल्यानले आइतबार बिहान गरेको पत्रकार सम्मेलनमा भन्नुभयो । उम्मेदवार छनोटबारे तल्लो तहमा नटुंगिएको विवाद भने केन्द्रले टुंगो लगाउने पनि बताउनुभयो ।
तर, सर्वसम्मत रूपमा राम्रा मान्छेलाई उम्मेदवार बनाउन आग्रह गर्नुभयो । उहाँले पार्टीका तल्लो तहका समितिले टुंग्याउन नसकेका विवाद भए केन्द्रले हेर्न सक्ने पनि बताउनुभयो । ‘जुन तहको हो उम्मेद्वारी हो, त्यही टुंगियोस् । सर्वसम्मत भएर टुंगियोस् भन्ने केन्द्रको चाहना छ,’ उहाँले भन्नुभयो ।
नेपाली कांग्रेसले आरम्भ गरेको ‘घरघर जाऔँ नेपाली कांग्रेसलाई जिताऔँ’ भन्ने देशव्यापी अभियानमा बढीभन्दा बढी जनतालाई पार्टींसँग जोड्न पनि पार्टीका हरेक तहका नेता तथा कार्यकर्तालाई उहााले आग्रह गर्नुभयो । महतले स्थानीय तहको उम्मेद्वारीको सामान्य मापदण्ड पनि सार्वजनिक गर्नुभयो । उहाँले निर्वाचनमा सकेसम्म धेरैभन्दा धेरै पदमा जित्ने लक्ष्य हुने भएकाले जो उठाउँदा बढी मत आउँछ त्यसैलाई प्राथमिकता दिएर उम्मेदवारी तय गर्न उपयुक्त हुने बताउनुभयो । नागरिक खबरबाट