आचारसंहिता पालनामा दलहरुले आफैंलाई शंका गरे : प्रमुख आयुक्त थपलिया

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राजनीतिक दलले निर्वाचन आचारसंहिता पालनामा आफैंलाई शंका गरेको टिप्पणी गर्नुभएको छ ।

आचारसंहिता मस्यौदा गर्दा दलहरुको पनि सुझाव लिएको भन्दै उनले अहिले कार्यान्वयन गर्ने बेलामा दलहरुले आफैंमाथि शंका गरेको बताउनुभएकोे हो ।

‘यो आचारसंहिता अत्यन्तै राम्रो छ । म र म संवद्ध भएको दल वा म संवद्ध भएको संस्था यो आचारसंहिता पालना गर्न र गराउन कटिवद्ध छ, यदि त्यसो हो भने शंका को प्रति ?’ थपलियाले प्रश्न गर्नुभयो, ‘अलिकति अप्ठेरो प्रश्न मैले देखेँ, आफैंले आफैंलाई शंका गरेर आफैंलृ आफैंलाई अविश्वास गर्न मिल्छ कि मिल्दैन ?’

थपलियाले आफूले पालना गर्नुपर्ने नियम पालनामा आफैं बाधक हो भन्न मिल्ने कि नमिल्ने भनी प्रश्न गर्नुभयो ।आफूहरुले निकै मिहिनेतका साथ आचारसंहिता बनाएको र दलहरुको पनि सुझाव दिएको उहाँले बताउनुभयो ।

२०७४ सालको निर्वाचनको अनुभवको आधारमा आचारसंहिताको मस्यौदा गरेको, उक्त मस्यौदा राजनीतिक दलहरुलाई दिएर लिखित सुझाव मागेको र आयोगमा पनि अन्तर्क्रिया गरेको भन्दै प्रमुख आयुक्त थपलियाले ती सुझावसहितको मस्यौदा वेबसाइटमा राखेर त्यहाँबाट पनि सुझाव लिएको दावी गर्नुभयो ।

‘बनाउने बेलामा यो पनि छुट्ला उ पनि छुट्ला भनेर भएजति सबै कुरा हाल्न चाहने, कार्यान्वयन गर्ने बेलामा म त ठीकै छु, अर्कोले गरिदिँदैन कि भनेर आफैंमाथि शंका गर्ने प्रवृत्तिले निर्वाचनको स्वच्छतालाई कायम गर्न सक्दैनौं’ उहाँले भन्नुभयो ।

शासकीय प्रणालीको शुद्धताका लागि, निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र मितव्ययी ढंगले निर्वाचन सम्पन्न गर्नुपर्ने प्रमुख आयुक्त थपलियाले बताउनुभयो । ‘यत्ति गरिदियो भने अनुगमन गर्ने, कारबाही गर्ने र दण्ड गरिरहनै पर्दैन’ उहाँले भन्नुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार