पुराना दलहरूको आयु सकियो : अध्यक्ष ढकाल

काठमाडौँ । परिवार दलका अध्यक्ष एकनाथ ढकालले पुराना दलहरूको आयु सकिएको बताउँदै उनीहरूले गर्न सक्ने जति काम गरिसकेकोले अब यो भन्दा धेरै आशा गर्न नहुने र पुरानो विचारले कहिल्यै नयाँ युगको नेतृत्व गर्न नसक्ने ठोकुवा गर्नुभयो ।

नुवाकोट जिल्ला कमिटीको आयोजनामा शनिबार विदुरमा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले विकासको साधक हुनुपर्ने नेताहरू नै बाधक बनेकोले स्थानीय तहमा अपेक्षा अनुसारको विकास निर्माण हुन नसकेको बताउनुभएको हो ।

पूर्वमन्त्री समेत रहेका ढकालले देश परिवर्तन गर्ने जिम्मा राजनीतिक नेतृत्वको प्रमुख भूमिका रहे पनि वर्तमान अवस्थामा जन्मदर्ता प्रमाण पत्र बनाउनदेखि मृत्यु दर्ता प्रमाणपत्र बनाउन समेत भनसुन र कमिसन दिनुपर्ने स्थिति सिर्जना भएको बताउनुभयो ।

उहाँले पुराना नेताहरूले नीतिगत रूपमा नै भ्रष्टाचार गरेर विकृत संस्कार खडा गरी राज्यको ढुकुटी सबै पोल्टामा हालेर दादागिरी मच्चाएकाले अब जनताहरू सचेत भएर नयाँ नेतृत्व चुन्नु पर्नेमा जोड दिनुभयो।ढकालले आसन्न स्थानीय निर्वाचनमा आफ्नो पार्टीले भाग लिनको लागि ७६ जिल्लाको विवरण निर्वाचन आयोगमा पेस गरेको बताउँदै निर्वाचनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो ।

दलका महामन्त्री सन्तोष कुमार पौडेलले पार्टी स्थापना कालदेखि नै जनताको घर दैलोमा पुगेर साथ दिएकाले जनताहरू बिस्तारै परिवार दलमा आकर्षित भएको बताउनुभयो । दलका अर्का महामन्त्री प्रकाश बाबु थापाले युवाहरू परिवर्तनको संवाहक भएता पनि आजको नाजुक परिस्थितिले आफूलाई कहाली लागेको र आफू परिवार दलमा आएर सचेत नभएको भए विदेशी भूमिमा श्रम बेचेर बस्नु पर्ने अवस्था गरेको बताउनुभयो। अध्यक्ष ढकालले विभिन्न दल परित्याग गरेका व्यक्तिहरूलाई परिवार दलको सदस्यता वितरण गर्नुभएको थियो । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार