![](https://myagdinews.com/wp-content/uploads/2022/04/chandra-dhakal.jpg)
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण भए पनि श्रीलंकाको जस्तो अवस्थामा पुग्ने अवस्था नभएको बताउनुभएको छ ।
बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेसनमा बोल्दै उपाध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा भए पनि श्रीलंकाको जस्तो अवस्थामा भने नपुग्ने बताउनुभएको हो । जबसम्म स्वदेशमा उत्पादित वस्तुहरुको उपभोग गर्दैनौ तबसम्म रोजगारी सृजना र आर्थिक समृद्धि हुन नसक्ने उहाँको भनाइ छ ।
उपाध्यक्ष ढकालले अहिले मुलुकको अर्थतन्त्र चुनौती पूर्ण रहेकाले यो चुनौती सामना गर्न अर्थतन्त्रलाई चलायमान बनाउने गरी निजी क्षेत्रले काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जबसम्म हामीले स्वदेशी उत्पादनलाई प्राथमिकता दिंदैनौँ र स्वदेशी उत्पादनबाट नै रोजगारी सृजना गर्ने, राजश्व संकलन गर्ने मुलुकमा पूर्वाधारहरुको विकास गर्ने र स्वदेशमा उत्पादन भएका वस्तुलाई धेरै भन्दा धेरै उपयोग गर्न सकिंदैन। त्यति बेलासम्म वास्तविक रुपमा आर्थिक समृद्धि हुँदैन ।’
उपाध्यक्ष ढकालले अहिलेको अर्थतन्त्रको मुख्य समस्या तरलता अभाव भएको बताउनुभयो । उहाँले तरलता अभावको कारण बैंकहरुले तरलता सहज बनाउनका लागि निक्षेपको ब्याजदर बढाए पनि निक्षेप बढ्न नसकेको बताउनुभयो । बैंकहरुले निक्षेपको ब्याजदर बढाउँदैमा निक्षेप बढ्दैन भन्ने पछिल्लो उदाहरण भएको उहाँको भनाइ छ । उहाँले बैंकहरुमा जबसम्म व्यवसायले थाम्न सक्ने ब्याजदर हुँदैन तबसम्म व्यवसायीक गतिविधिहरु अगाडि बढ्न नसक्ने दाबी गर्नुभयो ।
ढकालले भन्नुभयो, ‘अहिले बजारमा तरलताको समस्या रहेको छ । त्यसले गर्दा बैंकहरुले ब्याजदर बढाएका थिए । तर यसबाट के देखिएको छ भने निक्षेपको ब्याजदर बढ्दैमा निक्षेप बढ्न सक्दैन भन्ने कुरा देखाएको छ । जबसम्म व्यवसाय गर्नको लागि व्यवसायले थाम्न सक्ने ब्याजदर हुनसक्दैन । यस्तो अवस्थामा व्यावसायिक गतिविधिहरु अगाडि बढ्न सक्दैन ।’
पूर्व उद्योग तथा वाणिज्य आपूर्ति राज्य मन्त्री मोती दुगडले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण भएको अवस्थामा पनि सरकार गम्भीर नभएको बताउनुभयो । उहाँले अहिलेको गठबन्धन सरकारले नीजि क्षेत्रसँग कुनै छलफल समेत गर्न नसकेको आरोप लगाउनुभयो । सरकारले पछिल्लो समय उद्योगी व्यवसायीहरुको मनोवल खस्काउने काम गरेको दुगडले बताउनुभयो । अनलाइनखबरबाट