दरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष उम्मेद्धार ताराबहादुर रोका मगरले चुनावी घोषणापत्र सार्वजनिक गनुभएको छ । वडा अध्यक्षका उम्मेद्धार युवा नेता रोका मगरको घोषणापत्रमा विद्यालयको गुणस्तर सुधार ,राष्ट्रिय माविमा ‘प्लस टु’संचालन,सडक स्तरोन्नती देखी एक घर एक धारा लगायत कार्यक्रम समेतिएका छन् ।
वडाका उम्मेद्धाहरुको तर्फबाट सार्वजनिक गरिएको घोषणापत्रमा वडा अध्यक्षका उम्मेद्धार रोका मगरले वडा भित्रका कला संस्कृतिलाई प्रवद्र्धन गर्ने ,कृषि ,उद्यम मार्फत महिलाहरुलाई रोजगारी प्रदान गर्ने ,युवा क्लबहरुलाई थप चलायमान बनाउने ,हरेक बर्ष सार्वजनिक सुनुवाई गर्ने ,भुमिहिन नागरिकलाई लालपुर्जा दिलाउने ,ढुंगा खानीलाई बैधानिक बनाई स्थानीयलाई रोजगार प्रदान गर्ने ,वडामा वाईफाई जडान ,वडा कार्यालयको सेवा प्रवाहलाई प्रभावकारी बनाउने लगायत प्रतिबद्धता जनाउनुभएको छ ।
शिक्षण सेवाबाट राजनितिमा प्रवेश गर्नुभएका रोका मगर कांग्रेस प्रदेश सभा ‘ख’का सचिव समेत हुनुहुन्छ । २०७४ को निर्वाचनमा वडा अध्यक्ष पदमा उम्मेद्धारी दिनुभएका रोका मगर झिनो मतान्तरले पराजित हुनुभएको थियो । सामाजिक सेवामा समेत सक्रिय रोका मगर संग नेपाल मगर संघ इकाई,सडक ,खानेपानी ,क्लब लगायत विभिन्न सामाजिक संघ संस्थामा नेतृत्व गरेको अनुभव छ ।वडा अध्यक्षका उम्मेद्धार रोका मगरले घरदैलो अभियानलाई तिब्र रुपमा अगाडी बढाउनुभएको छ ।वडा नम्बर २ को वडा अध्यक्षमा नेकपा एमालेले उदयकुमार बुढा र माओवादी केन्द्रले हर्कलाल दर्जीलाई चुनावी मैदानमा उतारेको छ ।