मालिकामा कांग्रेसको घरदैलो अभियान तिब्र

बेनी । आगमी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेसले जिल्लाको मालिका गाउँपालिकामा चुनावी घरदैलो अभियानलाई तिब्रता दिएको छ । वडा नम्बर १ रुमको घाङलेपानीबाट कांग्रेसले गाउँपालिका स्तरीय घरदैलो अभियान सुरु गरेको छ ।

घरदैलो अभियानको क्रममा गाउँपालिका अध्यक्ष पदका उम्मेद्धार युवा नेता श्रीप्रसाद रोका मगरले सबैको सहयोगमा २०७४ को चुनावमा आफु अध्यक्ष पदमा विजयी भएको र पहिलो कार्यकाल सफल भएको बताउँदै सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

घरदैलोको अभियानमा निवर्तमान गाउँपालिका अध्यक्ष रोका मगरले अघिल्लो कार्यकालमा आफ्नो नेतृत्वमा भएका उपलब्धी ,पहल तथा आगमी योजनाहरु सुनाउँनुभएको छ । पहिलो कार्यकालमा समृद्ध गाउँपालिका निर्माणको जग बसाल्ने काम भएकाे उहाँको भनाई छ । आफ्नो कार्यकालमा कुनै पनि वडालाई विभेद नगरेको बताउनुभयो । वडाबाट छनौट भएर आएका योजनालाई आवश्यकताको आधारमा बजेट विनियोजन तथा ठुला योजनाहरुलाई प्रदेश र संघ सरकारसंग पहल  गरेको बताउनुभयो ।

‘यहाँहरु सबैको सहयोगले पहिलो स्थानीय तहको निर्वाचनबाट गाउँपालिका अध्यक्षमा विजयी हुने मौका पाएँ र पहिलो कार्यकाल सफलता पुर्वक सम्पन्न भयो ,’उहाँले भन्नुभयो ,‘अघिल्लो कार्यकालमा समृद्ध गाउँपालिका निर्माणको लागि जग बसाल्ने काम गरेको छु । आगमी कार्यकालमा अधुरा रहेका योजनाहरु पुरा गर्न र गाउँपालिकालाई समृद्ध बनाउन पुनः उम्मेदवारी दिएको हुँ ।’

गाउँपालिकालाई समृद्ध ,विकसित र शुसासन युक्त बनाउनको लागि आफु लगायतको टिमलाई भोट दिएर विजयी बनाउन अपिल समेत गर्नुभयो । यस अघिको कार्यकालमा गाउँपालिकामा क्याम्पस संचालन गर्न आफुले पहल थालेको बताउनुभयो । अध्यक्षका उम्मेद्धारी रोका मगरले आगमी कार्यकालमा सडकलाई व्यवस्थित बनाउने ,कृषि उपजको बजार सुनिश्चित गर्ने ,किसानी प्राविधिक शिक्षालयलाई थप व्यवस्थित बनाउने तथा गाउँपालिकामा क्याम्पस संचालनलाई प्राथमिकता दिने बताउनुुभयो ।

गाउँपालिकाकाे  वडा नम्बर ५ देविस्थान ,वडा नम्बर ३ डाडागाउँ ,वडा नम्बर ४ को च्युरिबोट लगायत  वडाका   विभिन्न बस्तीमा  घरदैलो अभियान संचालन गरेको  कांग्रेसले जनाएकाे छ । घरदैलो अभियानमा गाउँपालिका उपाध्यक्ष उम्मेद्धार पिपला बुढा , वडा अध्यक्ष , सदस्य उम्मेद्धारहरु ,कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कांग्रेसले घोषणा गरेको ‘घरघर जाऔँ, कांग्रेस जिताऊँ’ अभियान लिएर नेताहरू वडास्तरसम्म परिचालन भएको कांग्रेस  म्याग्दीले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार