ललितपुर महानगरद्वारा २४ सैं घण्टा निःशुल्क एम्बुलेन्स सेवा सुरू

काठमाडौं । ललितपुर महानगरपालिकाले नगरभित्रका बिरामीलाई अस्पतालसम्म लैजान–ल्याउनका लागि निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेको छ । महानगरको पूर्व योजना अनुसारनै नगरभित्र निःशुल्क एम्बुलेन्स, दमकल, शववाहन सुरू गरेको महानगरपालिकाका निवर्तमान मेयर चिरीबाबु महर्जनले बताउनुभयो।

महानगरले २४ सैं घण्टा दमलकसँगै एम्बुलेन्सले पनि निः शुल्क सेवा दिने महर्जनले जानकारी दिनुभयो । हृदयघात, मृगौला रोगीलगायतका महानगरबासीहरूलाई आकस्मिक सेवाका लागि आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान–ल्याउन महानगरले आफ्नै खर्चमा एम्बुलेन्स खरिद गरि दमकलसँगै निःशुल्क सेवाको सुविधा उपलब्ध गराउन सुरू गरेको हो।

महानगरमा बसोवास गर्ने बिरामीलाई सहज रूपमा अस्पतालसम्म लैजान–ल्याउन आफूहरूले निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेको ललितपुर नगर प्रहरी प्रमुख सिताराम हाथेछुले जानकारी दिनुभयो। ‘२४ सैं घण्टा हामी महानगरबासी बिरामीलाई निःशुल्क सेवा दिन्छौं’, हाथेछुले भन्नुभयो, ‘महानगर भित्रका कसैलाई समस्या परेमा हामीलाई निःशुल्क ललितपुर नगर प्रहरीको हटलाइन नम्बर ११३१ को व्यवस्था गरेका छौं, जुन २४ सैं घण्टा उपलब्ध हुन्छ।’

उहाँले अब नगर प्रहरीले एकै ठाउँबाट दमकल, एम्बुलेन्स, सुरक्षा, शववाहन लगायत महानगरबासीको अत्यावश्यक सेवा उपलब्ध हुने बताउनुभयो।‘हामीले दमकल जस्तै एम्बुलेन्स पनि स्टाण्डबाई राखेका छौं। एम्बुलेन्सले महानगरको भौगोलिक क्षेत्र भित्र निःशुल्क सेवा दिनेछ’, उहाँले भन्नुभयो, ‘रोगको प्रकृति हेरि प्राथमिकीकरण गरी सेवा प्रदान गर्नेछ। यसमा हृदयघात, मृगौला रोगी, आकस्मिक सेवाको पहिलो प्राथमिकता पाउनेछन्।’एम्बुलेन्सको सञ्चानको सबै जिम्मेवारी नगरप्रहरीले लिएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार