काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय चुनावमा तालमेल सफल भएको दाबी गर्नुभएको छ । अपवाद बाहेकका ठाउँमा पार्टीको निर्णयलाई स्वीकार गरेर कांग्रेस नेता कार्यकर्ताले स्वीकार गरेको उहाँले बताउनुभयो ।
निर्वाचन प्रचार प्रसार समितिले आइतबार गरेको पत्रकार सम्मेलनमा महतले भने, ‘धेरैलाई लागेको थियो यो तालमेल सफल हुन सक्दैन, ठूलो विद्रोह हुन्छ । तर त्यस्तो अवस्था आएन ।’
कतिपय पालिकामा आफ्नो मतदाता धेरै भएकाले अरुलाई किन प्रमुख दिएको भन्ने भावना पनि रहेको बताउनुभयो । समग्रमा ठीक भएको भन्दै उहाँले भन्नुभयो, ‘एकाध स्थानीय तहमा, जहाँ अझै विद्रोही उम्मेदवार हुनुहुन्छ । ती साथीहरुले पनि पार्टी र गठबन्धनले तय गरेको उम्मेदवारको पक्षमा आउनु हुनेछ भन्ने विश्वास छ ।’ अनलाइनखबरबाट


























