कैलालीमा निष्कासित नेता ओझाले अस्वीकार गरे देउवासँगको भेट

धनगढी । धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसले निवर्तमान मेयर नृपबहादुर वडलाई नै यसपटक पनि मेयरको उम्मेदवार बनायो । यसपटक धनगढीमा कांग्रेसका उम्मेदवार वडलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित सत्तारुढ गठबन्धनका दलहरुको साथ छ ।

अघिल्लो निर्वाचनमा एक्लाएक्लै चुनाव लड्दा पनि मेयरमा निर्वाचित भएका वड यसपटक भने पार्टीभित्रको आन्तरिक कलहका कारण माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ हुँदाहुँदै पनि जितप्रति विश्वस्त हुन सकेका छैनन् ।नेता पुष्करनाथ ओझामाथिको कारवाही, जिल्ला अधिवेशनमा असन्तुष्ट रहेको प्रकाश बम र टिकट वितरणमा असन्तुष्ट कृष्णबहादुर महरा पक्षले स्थानीय निर्वाचनमा वडलाई सहयोग नगर्ने भय कांग्रेसको छ ।

यही भयका कारण पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाको निर्वाचन क्षेत्रसमेत रहेको धनगढीमा आन्तरिक विवाद मिलाउन समेत सक्रिय छिन् ।सोमबार सत्तारुढ गठबन्धनले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्न आइतबार साँझ नै धनगढी आइपुगेका देउवाले पार्टीको समस्या मिलाउन कैलालीका विभिन्न तहका नेतासँग छुट्टाछुट्टै छलफल गरेका छन् ।

सोही अनुसार देउवाले पार्टीबाट पाँच वर्षका लागि निष्कासनमा परेका पूर्वराज्य मन्त्री तथा तत्कालीन महासमिति सदस्य पुष्करनाथ ओझालाई पनि भेट्न खोजेका थिए । तर ओझाले भने देउवालाई भेट्ने प्रस्ताव सोझै अस्वीकार गरेका छन् ।यस्तो बेला पार्टीभित्रका आन्तरिक समस्यालाई बल्झाउनुुहुँदैन । सबै साथीहरुलाई मिलाएर लैजानुपर्छ भनेर शेरबहादुर दाइले उहाँलाई ९पुष्करनाथ ओझा० भेट्न बोलाउनुभएको थियो,’ कांग्रेसका एक नेताले अनलाइनखबरसँग भने, ‘तर उहाँले वैशाख ३० गते अघि कसैलाई पनि भेट्दैन भन्ने जवाफ फर्काउनुभयो ।’

देउवाले धनगढीमा आयोजना गरिएको चुनावी आमसभामा पुष्करनाथ ओझालाई पनि सहभागी गराएर कारवाही फुकुुवा भएको घोषणा गर्ने र पार्टीभित्र अब समस्या नरहेको सन्देश दिने उद्देश्यले उनको घरमै दुई जनालाई पठाएका थिए । ती नेताले ओझालाई करीब एक घण्टासम्म मनाउने प्रयास गरेपनि असफल भएका कांग्रेस स्रोतले बतायो ।२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा ओझा पनि टिकटको दौडमा थिए तर पार्टी सभापति देउवाले उनलाई वाइपास गर्दै आफ्नी पत्नी आरजुलाई टिकट दिएपछि असन्तुष्ट बनेका थिए ।

तर आरजुु उक्त निर्वाचनमा नेकपा एमालेका नारदमुनि रानासँग पराजित भएकी थिइन् ।ओझाले चुनावमा असहयोग गरेर आरजुलाई हराउन भूमिका खेलेको भन्दै कांग्रेसले उनलाई पार्टीबाट पाँच वर्षका लागि निष्कासन गरेको थियो ।ओझाको सहयोग नभएको अवस्थामा धनगढी उपमहानगरपालिकामा गठबन्धन गर्दा समेत चुनाव जित्ने नसकिने भयका कारण उनलाई मनाउने प्रयास जारी रहेको कांग्रेसका नेताहरु बताउँछन् ।अनलाइनखबरबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार