विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले जनताको ठुलो बलिदान र संघर्षबाट प्राप्त गणतन्त्रणलाई सुदृढ र सफल बनाउनुपर्ने बताउनुभएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा १५औँ गणतन्त्र दिवसको अवसरमा आज विराटनगरमा आयोजित रक्तदान कार्यक्रमको उद्घाटन गर्दै उहाँले संविधानको मर्मअनुसार गणतन्त्रलाई कार्यान्वयन गर्न सबैको काँधमा ठुलो जिम्मेवारी आएको धारणा राख्नुभयो ।
मुख्यमन्त्री राईले गणतन्त्र स्थापनापछि अहिले हामी सिकाइको क्रममा रहेको उल्लेख गर्दै जनताको विकास र समृद्धिको अनुभूति क्रमशः पूरा हुँदै जाने विचार व्यक्त गर्नुभयो । उहाँले गणतन्त्र स्थापनापछि विभिन्न क्षेत्रका पछिपरेका नागरिकको हकअधिकार प्राप्त भइरहेको उल्लेख गर्दै आगामी दिनमा प्रदेशको विकासले फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री राईले रक्तदान जीवन दान भएको उल्लेख गर्दै स्वस्थ्य नागरिकले प्रत्येक तीन महिनामा रक्तदान गरी अन्य व्यक्तिको जीवन बचाउन सबैभन्दा ठुलो पुण्यकार्य हुने उल्लेख गर्नुभयो । उहाँले रक्तदान गर्ने दातालाई प्रमाणपत्र वितरण गर्नुभएको छ । सो अवसरमा सशस्त्र, नेपाल प्रहरी, मन्त्रालयका कर्मचारी, सर्वसाधारण गरी एक सय जनाले रक्तदान गर्नुभएको थियो । नागरिक खबरबाट